रेलमार्ग चलाउन छुट्टै विभाग

अर्जुन सुवेदी, काठमाडौं, साउन ११- काठमाडौं-पोखरा, मेची-महाकालीको १३ सय १८ किलोमिटर रेलमार्गको अध्ययन पूरा भएको छ। रेलमार्ग अध्ययनको जिम्मा पाएको भारतको राइट इन्डिया कम्पनीले सोमबार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। अध्ययनमा दुवै रेलमार्ग सञ्चालन सम्भव देखिएको राइट इन्डियाले जनाएको छ। 'हाम्रो अध्ययनले रेलमार्ग सञ्चालन सम्भव देखिएको छ,' भारतीय कम्पनी प्रमुख पीके गुप्ताले भने 'अब आयोजनाको कामलाई कसरी अघि बढाउने भन्ने सरकारको कुरा हो।'

स्रोत साधन उपलब्ध भए आगामी १० वर्षभित्र रेलमार्ग सञ्चालनमा ल्याउन सकिने भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत रहेको विद्युतीय रेलमार्ग आयोजना प्रमुख सुनीलकुमार कर्णले बताए। 'यसका लागि ८ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौं,' उनले भने।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्नेतले रेलमार्ग निर्माणलाई सरकारले प्राथमिकता दिने बताए। 'सरकारले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउँछ,' बस्नेतले भने, 'यसका लागि रेल सञ्चालनसम्बन्धी कामका लागि छुट्टै विभाग गठन गर्ने तयारीमा छौं।'

अर्थ मन्त्रालय , योजना आयोगसँग रेलमार्ग सञ्चालनका विषयमा कुराकानी भइरहेकाले आगामी बजेटमा रेलमार्गलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

कुल मार्गमध्ये झन्डै ७० प्रतिशत सुरुङ खन्नुपर्ने अध्ययनमा छ। रेलमार्ग सञ्चालनका लागि सय मेगावाट विद्युत चाहिने छ।

मेची-महाकाली रेलमार्ग २२ जिल्ला र काठमाडौं-पोखरा रेलमार्ग ७ जिल्ला हुँदै जाने प्रतिवेदनमा छ। चितवन र नुवाकोटमा यी दुई मार्ग एक आपसमा जोडिने समेत बताइएको छ।

गत महिना मन्त्रिपरिषद्ले विभिन्न स्थानमा रेलमार्ग पहिचान गरी यसको निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। मन्त्रालयले नौ महिनाअघि आठ करोडको लागतमा अध्ययन सुरु गराएको थियो।