NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

मर्जरले रोकिएका ३३ कम्पनीको सेयर कारोबार खुल्दै

काठमाडौँ — सूचीकृत कम्पनीहरूका लागि गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका–०७९ कार्यान्वयनमा आएसँगै मर्जर तथा एक्विजिसनका कारण सेयर रोक्का रहेका करिब तीन दर्जन कम्पनीको साधारण सेयर कारोबार फुकुवा हुने भएको छ ।

निर्देशिकामा मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा भइसकेर एकीकृत कारोबार सुरु भएपछि बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएपछि लामो समयदेखि कारोबार बन्द रहेका ३३ वटा कम्पनीको साधारण सेयर फुकुवा हुने भएको हो । आधारभूत सेयरधनीको सेयर कारोबार भने साधारणसभाले मर्जर तथा एक्विजिसन प्रस्ताव पारित नगरेसम्म रोक्का नै राख्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २४ देखि ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका–०७९’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिकामा गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ । ‘संगठित संस्थाको नाम परिवर्तन नहुने भए अर्को संस्थालाई प्राप्ति गर्ने संस्थाको भने सेयर कारोबार रोक्का राख्नुपर्नेछैन,’ निर्देशिकामा भनिएको छ । यही व्यवस्थाका कारण यसअघि कारोबार बन्द रहेका ३३ कम्पनीको सेयर कारोबार खुला हुने भएको हो । निर्देशिका लागु हुनुअघिसम्म १६ वटा बिमा कम्पनी, ९ वटा लघुवित्त वित्तीय संस्था र ८ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का छ ।

रोक्का रहेको कारोबार खुला गर्न सम्बन्धित कम्पनीले धितोपत्र बजार (नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था (सीडीएस एन्ड क्लियरिङ) मा आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का राखेर बाँकीको खुला गर्न आवेदन दिनुपर्नेछ । ‘यो निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ ।’

यही व्यवस्थाअनुसार मर्जर तथा एक्विजिसनका कारण सेयर कारोबार रोक्का रहेका केही कम्पनीले फुकुवाका लागि नेप्से र सीडीएस एन्ड क्लियरिङमा आवेदन दिएका छन् भने केहीको कारोबार फुकुवा भइसकेको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका–०७९’ लागू भएपछि रोक्का रहेका सेयर कारोबार फुकुवाका लागि निवेदन आउने क्रम बढेको नेप्सेले जनाएको छ । सोही क्रममा केही कम्पनीको सेयर कारोबार फुकुवा भइसकेको बताइएको छ । मर्जर तथा एक्विजिसनमा जाने सूचीकृत संस्थाहरूले प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र उक्त कार्य पूरा गर्नुपर्ने भएको छ । तोकिएको समयमा मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा नभए पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कारबाही गर्ने व्यवस्था निर्देशिकामा छ । निर्देशिकामा ६ महिनाभित्र मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा नगरे संस्थाका सञ्चालक समिति जवाफदेही हुने व्यवस्था छ ।हालसम्म अपवादबाहेक सबै मर्जर पूरा हुन ६ महिनाभन्दा बढी समय लाग्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष