NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

लाइसेन्समा सेटिङ, यातायातका प्रमुख र प्रहरीसहित १९ जनालाई सफाइ

काठमाडौं । यातायात ब्यवस्था कार्यालय, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भ्रष्टाचार मुद्दामा यातायातका कर्मचारी र प्रहरीले सफाइ पाएका छन् । तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले बुधबार सफाइ दिएको हो ।

अख्तियार तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको, परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी लाइसेन्स दिएको अख्तियारको दाबी थियो ।

जसमा तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेल, ध्रुवराज देवकोटा, नायब सुब्बाहरु ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेल पनि प्रतिवादी रहेकोमा उनीहरुले समेत सफाइ पाएका छन् । खरिदार चन्द्रमणी नेपाली र केशर कुमार चपाई तथा हलुका सबारी चालक ध्रुवराज अर्याल पनि यसमा प्रतिवादी थिए । यसमा संलग्न प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटालाई समेत अख्तियारले मुद्दा दायर गरेकोमा सबैले सफाइ पाएका छन् ।