NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

गणेश लामामाथि अपहरणको उजुरी, प्रहरीद्वारा संरक्षण ?

काठमाडौं । डन पृष्ठभुमीका कांग्रेस नेता गणेश लामाविरुद्ध अपहरणको उजुरी परेको छ । तर, प्रहरी प्रभावमा परी लामालाई जोगाउनतर्फ केन्द्रीत भएको खुलेको छ ।

लामा र विजयकुमार गच्छदार निकट सहदेव कक्षपतिले व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरी बन्धक बनाई पैसा असुल्ने प्रयास गरेका हुन् । गत पुस २३ गते सानेपामा अपहरण गरी लन्डन हाउस नामक होटलमा लगेर बन्धक बनाएका हुन् । त्यसविरुद्ध माघ २८ गते खड्काले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । तर, कार्यालयले छानबिनमा चासो नदिइ ललितपुर प्रहरीमा जाहेरी पठाइदिएको छ । लामा निकट केही प्रहरी अधिकारको जोडबलमा अनुसन्धान नगरिएको स्रोत बताउँछ। टोले गुन्डालाई गोली हान्ने सो कार्यालयका प्रहरी अधिकारीको ठूला गुन्डा नाइकेसँग भने साँठगाँठ गरेको आशंका गरिएको छ। अर्काेतर्फ लामाले आफुसँग प्रहरी अधिकारी समेत मिलेको भन्दै खड्कालाई धम्काएका थिए ।

प्रहरीले अनुसन्धानमा चासो नदिएपछि व्यवसायी खड्काले मंगलबार प्रेस बिज्ञप्ती निकालेका छन् । यसअघि विभिन्न अपराधमा जेल परेका लामा पछिल्लो समय नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।