NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

धूम्रपानको दलदलमा युवा

अझै कार्यान्वयनमा आएन ऐन, वर्षमै जान्छ ३० हजारको ज्यान

काठमाडौं । धूम्रपान र सुर्तीजन्य पर्दाथको लतमा पर्ने युवाको संख्या बढ्दै गएको छ । सामान्य पसल होस् वा कलेज परिसर, युवाहरूले धूम्रपानजन्य पदार्थ सेवन गरिरहेको दृश्य प्रशस्त देखिन्छन् ।

युवामा बढ्दो धूम्रपानको लतले एकातिर मानसिक, शारीरिक स्वास्थ्यमा असर गरिरहेको छ  भने अर्कातिर सामाजमा समेत यसको दुश्प्रभावको बाछिटा परिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा धूम्रपानले वार्षिक ३० हजारको मृत्यु हुने गरेको छ ।

सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकका निम्ति ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन – २०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली – २०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका- २०७१ जस्ता कानून तथा निर्देशिका प्रयोगमा छन् । तथापि, यस्ता कानूनको प्रभाकारी कार्यान्वयन नहुँदा यस्ता पदार्थको रोकथाम तथा नियन्त्रण दुरुह बनेको छ ।

‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन- २०६८ दफा ४ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने प्रष्टसाथ उल्लेख छ । कानूनले सार्वजनिक स्थानमा धूम्रपान गर्न बन्देज लगाएको भएता पनि नियन्त्रण हुन सकेको छैन । सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा ‘कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन’ भन्ने उल्लेख छ । कानूनी व्यवस्थालाई कागजको खोस्टा बनाउँदा नेपालमा बर्सेनि २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुँदै आइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा धूम्रपानले वार्षिक ३० हजारको मृत्यु हुने गरेको छ ।

छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना धूम्रपानबाट निस्कने धुँवामा क्यान्सर निम्त्याउने विभिन्न रसायन हुने र यसले फोक्सोसम्न्धी रोग मात्र नभई, मुटु पेट, मस्तिष्कलगायतलाई पनि असर गर्ने सुनाउँछन् । ‘चुुरोटको धुुँवामा करौडौं क्यान्सर गराउने तत्व हुन्छन् । यसमा झण्डै सात हजार क्यान्सर गराउने रसायन र ७० वटा प्रत्यक्ष क्यान्सर गराउने रासायनिक पदार्थ हुन्छ,’ उनले भने ।

नेपालमा नसर्ने रोगहरूको प्रकोप पनि दिनप्रतिदिन बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुई तिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको तथ्यांक छ । नसर्ने रोगमध्ये सबैभन्दा घातक हो, क्यान्सर । क्यान्सरको प्रमुुख कारकतत्व धूम्रपान तथा सुर्तीजन्य पदार्थ नै रहेको डा.ढुुंगाना बताउँछन् ।

धूमपानबाट हुने क्यान्सरमा विशेषगरी फोक्सोको क्यान्सर, नाक कान घाँटीको क्यान्सर, मुख तथा पिसाब थैलीको क्यान्सर, कार्डियोभासकुलर क्यान्सर आदि पर्छन् । विश्वको तथ्यांक हेर्ने हो भने फोक्सोको क्यान्सर महिलाभन्दा पनि पुरुषमा बढी देखिन्छ ।

बढ्दै सुर्तीजन्य पदार्थको प्रयोग

नेपालमा सुर्तीजन्य पदार्थको उपभोग ग्राफ दिनप्रतिदिन उकालो चढ्दै गइरहेको छ । केही समयअघि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक सर्भेक्षणले नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाएको थियो । सर्भेक्षणअनुसार नेपालमा कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या ३४ प्रतिशत रहेको छ । जसमा पुरुष ५७ प्रतिशत र महिला ११ प्रतिशत छन् ।

युवाहरू सुर्तीजन्य पदार्थतर्फ आकर्षित हुुदै गएको पनि सर्भेक्षणले देखाएको छ । त्यसमा पनि विद्युतीय चुरोटको आकर्षण बढी छ ।  सर्भेक्षणमा १५ देखि २४ वर्ष उमेर समूहका ४७ प्रतिशत युवाले हुक्का र ५८ प्रतिशतले ई-सिगरेट लिने गरेको देखाइएको छ । ई-सिगरेट सुरक्षित रहेको बुझाइ तथा आमाबाबुबाटै यसका लागि अनुमति दिने प्रचलनले यसको प्रयोग बढ्न पुगेको जानकारहरू बताउँछन् ।

डा. ढुंगाना तीव्र प्रचारप्रसार युवामा धूम्रपानको क्रेज बढ्नुको मुख्य कारण मान्छन् । कानुनी प्रबन्धको पालना नहुनुलाई पनि यसको कारक ठान्ने डा. ढुंगाना यसमाथि लगाइँदै आएको कर वृद्धि गर्न सुझाउँछन् । ‘चुरोट बेच्न कानूनले वञ्चित गरेता पनि यो लागू भएको छैन् । जसले युवामाझ सुुर्तीजन्य पदार्थको पहुँच बढाएको छ,’ डा. ढुंगाना अगाडि थप्छन्, ‘यो घटाउन प्रचारप्रसारमा रोक र सुुर्तीजन्य पदार्थको करमा बृद्धि गर्न जरुरी छ ।’

विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोके पनि नेपालमा ४१ प्रतिशत मात्र कर लगाइएको छ । यसले पनि यसको नियन्त्रणमा चुनौती देखिएको छ ।

के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुुढाथोकी सुर्तीजन्य पदार्थलाई विस्तारै निषेध गर्नेगरी मन्त्रालय अघि बढेको बताउँछन् । सरकारको सोच धूम्रपानमुक्त नेपाल बनाउने भएको उल्लेख गर्दै यसका लागि ई–सिगरेटको उत्पादन, निर्यात आयात, सेवन सबैमा प्रतिबन्ध लगाउने गरी अघि बढिरहेको जानकारी दिए ।

त्यसका लागि निर्देशिका बनाइसकेको र कार्यान्वयनको लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको उनको भनाइ छ । सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने तथा त्यसको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बेच्न नपाइने कुरा ऐन तथा निर्देशिकामा उल्लेख भए पनि कार्यान्वयन अलिक कमजोर रहेको स्वीकार्छन उनी । कानूनी प्रबन्ध कार्यान्वयनमा समस्या देखिएकाले यसमा गृह मन्त्रालयको साथ मागिएको उनले जानकारी दिए ।

‘यसअघि गुह मन्त्रालयसँग समन्वय गरेर जरिवाना तिराउनेजस्ता कारबाही गरिएको थियो । अब फेरि पनि त्यही प्रणाली लागू गर्ने तयारीमा छौं’ उनले भने ।