रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
लेखनाथ । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले संयुक्त रुपमा बिहीबार रूपा १ र ७ मा पर्ने उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गरेका हुन्।
सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) रु ४७ करोड १८ लाख ९१ हजार लागतमा ३० महिनामा १६ दशमलव १२९ किलोमिटर दूरीको सडक निर्माण हुने भएको छ ।
चक्रपथको शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले यो सडक निर्माणमा प्राथमिकता दिएको र जसका कारण प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए । प्रदेश सरकारकै सहयोगमा आवश्यकता हेरी गाउँगाउँमा मोटरबाटो पुगेको उनले दाबी गरे ।
गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको टिप्पणी गर्दै उनले रूपा चक्रपथ बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चक्रपथ लगायतका विकास निर्माणमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । सडक निर्माणमा ढिलाइ नगर्न ठेकेदार कम्पनीलाई उनले निर्देशन दिए ।
काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले समाधान गर्ने र निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री केसीको भनाइ थियो । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सडक निर्माणपछि लमजुङ, तनहुँ र कास्कीका सर्वसाधारणका लागि आवागमनमा सहज हुने विश्वास व्यक्त गरे ।
आगामी आर्थिक वर्षमा चक्रपथको बाँकी ३५ किलोमिटर सडकलाई बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे । निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीयस्तरबाट समस्या नभए समयभन्दा अघि काम सक्ने प्रतिबद्धता जनाए ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया