६ महानगर र ११ उपमहानगर : कहाँ कसको दाबी ?
काठमाडौं । स्थानीय निर्वाचनमा तालमेलको निर्णय गरेका सत्तागठबन्धनमा आबद्ध दलहरूका दाबीले महानगर र उपमहानगरपालिकामा बाँडफाँटमै शीर्ष नेतृत्वलाई सकस भएको छ ।
उम्मेदवार चयनका सात आधार र सिट बाँडफाँटका चार प्रक्रिया टुंग्याए पनि पाँच दलबीच जिल्लादेखि केन्द्रसम्मै धेरै ठाउँमा जटिलता देखिएको छ ।
गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले यसअघि जितेका ललितपुर र विराटनगर पाउनेछ । एमालेले जितेको काठमाडौंमा गठबन्धनका अन्य दलले दाबी गरेका छन् । केन्द्र नबोले पनि पोखरा, भरतपुर र वीरगञ्ज महानगरमा कांग्रेसको स्थानीय कमिटीहरूले भने दाबी गरेका छन् ।
११ उपमहानगरमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले धनगढी र कलैया जितेको थियो । अहिले धनगढी र बुटवलमा गठबन्धनका अन्य दलहरूले दाबी गरेका छैनन् । स्थानीय कमिटीबाट आएका सिफारिसमा केन्द्रले छलफल गर्दैछ ।
अघिल्लो निर्वाचनमा माओवादीले भरतपुर महानगरपालिकामा जितेको थियो । यसअघि जितेका ठाउँ सम्बन्धित दलले राख्ने गठबन्धनको निर्णयअनुसार भरतपुर माओवादीले पाउने देखिन्छ । उसले दाबी पनि त्यहाँ मात्रै गरेको छ । तर कांग्रेसको स्थानीय कमिटीले पनि भरतपुरमा दाबी गरेको छ ।
माओवादीले दाङको घोराही उपमहानगरपालिका, मकवानपुरको हेटौंडा, सुनसरीको धरान र बाराको जितपुर सिमरा उपमहानगर रोजेको छ । तर कांग्रेसको स्थानीय कमिटीले पनि भरतपुरमा दाबी गरेको छ ।
अघिल्लो निर्वाचनमा काठमाडौं र पोखरा महानगरपालिका एमालेले जितेको थियो । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीले एमालेले जितेका ५० प्रतिशत सिटमा दाबी गरिरहेको छ । पोखरा आफूले पाउनुपर्ने उसको जिकिर छ । तर यहाँ कांग्रेसका १८ नेताले मेयरमा दाबी गरेका छन् ।
१९ उपमहानगरमध्ये एकीकृत समाजवादीले तीनवटामा दाबी गरेको छ । दाङको तुलसीपुर, सुनसरीको इटहरी र मकवानपुरको हेटौंडा उसको रोजाइ छ । अघिल्लो निर्वाचनमा एमालेले जितेका सातमध्ये यी तीन उपमहानगर पनि थिए ।
अघिल्लो निर्वाचनमा ६ मध्ये वीरगञ्ज महानगर जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले जितेको थियो । गठबन्धनको सहमतिअनुसार यहाँ उसको हक बन्नेछ । यसबाहेक विराटनगरमा पनि उसले दाबी गरेको छ । दुवै महानगरमा कांग्रेसका स्थानीय कमिटीहरूले पनि दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया