एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
भादगाउँ। भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन्।
गङ्गाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले भने, ‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’ सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताए।
रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी थिइन्। उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन्।
गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छन्। गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘गोमा जस्तो लगनशील र मेहिनती छात्रालाई सहयोग गर्न पाउनु नै ठूलो कुरा हो’, सांसद थापाले भने, ‘उनको जुन परिस्थितीमा सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याउनुभयो, त्यो अरु विद्यार्थीहरू विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रेरणाको स्रोत हो।’
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया