शनिबार मण्डला थिएटरमा गुञ्जदै जनवादी कलाकार
काठमाडौं । मण्डला थिएटरमा प्रायः रङ्गकर्मीहरूको अभिनय कला पोखिरहेको हुन्छ । दर्शकहरू त्यहाँ पुग्नुको उद्देश्यचाहिँ नाटकको मज्जा लिनु हुन्छ ।
त्यही मण्डला थिएटरमा शनिबार फरक दृश्य देखिँदै छ । रङ्गकर्मीहरूको अभिनय बढी हुने थिएटरमा जनवादी कलाकार गुञ्जँदै छन् ।
जनताले झेलेका समस्याहरूलाई जनवादी गीत–संगीतमार्फत उजागर गर्दै आइरहेका जनवादी कलाकार माइला लामा र मणि थापा नेतृत्वको टिमले आगामी शनिबार मण्डला थिएटरमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
पूर्वमन्त्री समेत रहेका थापाले ‘देशको संगीत’ नामक जनवादी गीतको सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको नेपालवाचलाई जानकारी दिए । उनका अनुसार, कार्यक्रममा १२ वटा जनवादी गीतहरूको प्रस्तुति रहने छ ।
नेपालको राजनीतिक परिवर्तनमा जनवादी गीत–संगीतको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै थापाले ००७ सालदेखि हालसम्मका परिवर्तनका आन्दोलनहरूमा जनवादी गीतले सशक्त भूमिका निर्वाह गर्दै आएको बताए। राजनीतिक परिवर्तन ल्याउनमा भूमिका खेलेका यिनै प्रगतिशील गीत–संगीत छायामा परेकोमा भने उनी खिन्न छन् । यही गीतको महत्ता बुझाउन र जनताको चेतनास्तर उकास्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले खुलाए ।
‘माओवादी जनयुद्धमा जनवादी गीतको महत्त्वपूर्ण भूमिका थियो । यसको विरासतभित्र जनवादी गीत, संगीत र साहित्यको भूमिका नयाँ तरिकाले पुनर्लेखन गर्न चाहन्छौं,’ थापाले कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे भने ।
अर्का जनवादी गायक तथा संगीतकार आरोह सिंहले जनवादी गीत संगीतको संरक्षण प्रवर्द्धन र विकास गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । पहिलो प्रस्तुतिलाई दर्शकले माया गरेको खण्डमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनले बताए ।
‘हामीले यो कार्यक्रम ठूलो उद्देश्य साचेर गर्न लागेका हौं,’ उनले भने, ‘दर्शकस्रोताहरूले पहिलो आयोजनालाई माया गरिदिनुभयो भने यस प्रकारका कार्यक्रम अझ विस्तार गर्ने सोचेका छौं ।’
पहिला जसरी जनवादी गीत सबैको घरदैलोसम्म पुग्थ्यो अहिले त्यो निरन्तरता टुुटेको र यसलाई निरन्तरता दिन नै यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा राखेको जनवादी गायिका केशरी घर्तीमगरले सुनाइन् । उनले जनवादी कलाकार एकै ठाउँमा उभिएको सन्देश दिन पनि यो कार्यक्रम आवश्यक भएको उनले बताइन् ।
‘जनवादी गीत सुन्नुपर्छ भन्ने यो पहिलो सुरुवात हो । कार्यक्रम सफल भएमा काठमाडौंबाहिर पनि पुग्ने लक्ष्य छ,’ उनले भनिन् ।
कार्यक्रममा रमण थामी, निर्मला घिसिङ, केशरी घर्ती, अनिश योजना, आरोह सिंह, सफल सोडारी, असल वाइबा र धिरज नाथलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् भने सुशीलसिंह ठकुरी, केशर कालिकोटे, माइला लामा र मणि थापाको समेत कार्यक्रममा प्रस्तुति रहने छ ।
१ हजार रूपैया प्रवेश शुल्क तोकिएको कार्यक्रम दिउँसो १ः३० बजे हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया