कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने
चितवन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु-याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रलाई उज्यालो पारिएको बताए । ‘भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौँ,’ उनले भने । बोलबम मेला अवधिमा करिब एक लाख ५० हजार भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न अन्य सोमबार २० हजार हाराहारी र अन्तिम सोमबार ५० हजारभन्दा बढी भक्तजन आउने कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।
घिमिरेले भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको बताए । स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शसस्त्र र नेपाली सेनाका उद्वारक टोली परिचालन गरिने छ । स्नान गर्ने ठाउँमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिने छ ।
देवघाट क्षेत्र विकास समितिले चितवन र तनहुँतर्फ राखेका सचिवालयबाट जनचेतनामूलक जानकारी तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सोमबार बिहानै स्नान गर्नका लागि आइतबार साँझ देवघाट जाने भक्तजनलाई गलेश्वर, हरिहर, महेश आश्रमलगायतका आश्रम तथा मन्दिरले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ ।
सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जाने–आउने रुट निर्धारण गरेको छ । आँपटारी हुँदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए ।
मेलामा सहभागी हुन रामनगर र ठिमुरा हुँदै देवघाट पुग्ने सडक प्रयोग गर्ने व्यवस्था मिलाइएको उनले बताए । काठमाडाैं, पोखरा हुँदै आउने भक्तजन दासढुङगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन् । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले सीताराम माविको खेलमैदान र नजिकैको सतनचुली सामुदायिक वन क्षेत्रको चौरमा पार्कीङस्थल निर्धारण गरिएको बताए ।
क्षेत्र विकास समितिले सडकको दायाँबायाँ फुटपाथ पसल नराख्न आग्रह गरेको छ । चितवन र तनहुँ जोड्ने झोलुङगे पुलमा एक पटकमा एक सय बढी भक्तजन ओहरदोहर नगर्न सुझाइएको छ । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यसवर्ष साउनमा पाँच सोमबार परेकाले धेरै भक्तजन आउने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया