उपचार नपाएर पाँच विपन्न युवाको मृत्यु, तर विपन्नका नामको बजेट फ्रिज

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाए । अन्य दर्जनौँ दलित र विपन्न परिवार उपचारको अभावमा छटपटाइरहेका छन् । तर, विपन्न परिवारका लागि आएको बजेट फ्रिज भएको पाइएको छ ।
कोरोना प्रभावित पाँच लाख विपन्न परिवारलाई दश हजार रुपैयाँका दरले राहत वितरण गर्न सरकारले गत पुस अन्तिम साता सबै स्थानीय तहमा पाँच अर्ब रुपैयाँ निकासा गरेको थियो । कञ्चनरूप नगरपालिकाका एक हजार दुई सय २१ विपन्न परिवारका लागि पनि सरकारले जनही दश हजार रुपैयाँका दरले एक करोड २२ लाख दश हजार रुपैयाँ पठाएको थियो । तर, सो रकम वितरण गर्न नसकेर नगरपालिकाले फ्रिज गरेको छ ।
नगरपालिका स्रोतका अनुसार त्यसरी आएको बजेट भागबन्डा नमिल्दा वितरण हुन नसकेको हो । ‘सुरुमा नगरप्रमुख वसन्त मिश्राले आफूनिकटहरूलाई बाँड्ने तयारी गरेका थिए । पछि अन्य जनप्रतिनिधि र कर्मचारीले पनि भाग खोजेपछि विवाद भयो । लामो समयसम्म भागबन्डाको कुरा नमिल्दा वितरण हुन सकेन र बजेट नै फ्रिज भयो,’ स्रोतले भन्यो ।
निवर्तमान नगरप्रमुख मिश्राले भने आफ्नो कार्यकालमा बजेट फ्रिज नभएको दाबी गरे । ‘मेरो कार्यकाल सकिनुअघि सबै काम टुंग्याइसकेको थिएँ । विपन्नहरूको छनोट भइसकेको थियो । वैशाखमा स्थानीय तहको निर्वाचन भएर नयाँ नेतृत्व आएपछि किन वितरण भएन भन्ने मलाई थाहा भएन,’ मिश्राले नयाँ पत्रिकासँग भने ।
कञ्चनरूप नगरपालिकामा हाल ललनप्रसाद गुप्ता मेयर छन् । उनले अघिल्लो कार्यकालका जिम्मेवार पदाधिकारीको लापरबाहीको कारण बजेट फ्रिज भएको दाबी गरे । ‘विपन्न परिवारका लागि बजेट आएको विषयमा मैले असारको अन्तिम दिनतिर मात्र थाहा पाएँ । त्यसपछि सबै शाखामा गएर धमाधम काम गर्न निर्देशन दिएको थिएँ । नभ्याइने भएपछि फ्रिज हुनुभन्दा मैले सो बजेट आफ्नै जिम्मेवारीमा स्वास्थ्य शाखाको खातामा राख्न लगाएको थिएँ । तर, पछि महालेखापरीक्षकको कार्यालयले त्यसरी बजेट राख्न नमिल्ने भन्दै चिठी पठाएपछि वितरण गर्न नपाई बजेट फिर्ता भयो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया