NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

समाधान खोज्ने अन्तिम प्रयास भइरहेका बेला कमल थापाको पार्टी छोडे : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समस्या समाधान गर्ने प्रयास भइरहँदा कमल थापाले पार्टी छोडेको प्रतिक्रिया दिएका छन् ।

थापाले पठाएको पत्रबारे पार्टीको शीर्ष तहमा छलफल भइरहेको बेला उनले पार्टी छोड्ने घोषणा गर्नुलाई लिङ्देनले अनपेक्षित भएको बताएका छन् ।

थापाले दिएको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको थियो । उहाँसमेतको सल्लाह–सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित र दुर्भाग्यपूर्ण घटना हो’, नेपालवाचसँग कुरा गर्दै उनले भने ।

पूर्वअध्यक्ष थापाले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै अत्यन्तै भारी मन बनाएर राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । त्यसलगत्तै उनले सामाजिक सञ्जालमा भावुक सन्देशसहितको विज्ञप्तिसमेत जारी गरेका थिए ।

‘अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु’, उनले भनेका छन् ।

आफ्नो कुराको सुनुवाइ नहुने भएपछि आफूले पार्टी छोड्ने निर्णय लिन बाध्य भएको उनको भनाइ छ ।

करिब दुई वर्षअघि पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गर्दा थापाले अब राप्रपा कहिल्यै नफुटाउने भन्दै भागवत गीता छोएर कसम खाएका थिए । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनको उद्घाटनमा पनि उनले यही कुरा दोहोर्याएका थिए ।

तर, अध्यक्षमा लिङ्देनसँग अप्रत्यासित रूपमा पराजित भएपछि थापा विचलित भएका हुन् ।

राप्रपाको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर आफूलाई अध्यक्षमा हराएको आरोप लगाउँदै छानबिन गर्न माग गरेर थापाले लिङ्देनलाई पत्र पठाएका थिए । लिङ्देनले त्यसको सुनुवाइ भने गरेका थिएनन् ।

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष