काठमाडौंकी अभिनेत्री करिश्मालाई स्वागत गर्दै ओलीले भने- जय मधेस

काठमाडौं । मंगलबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय थापाथली झकिझकाउ थियो । बिहानै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत सबैलाई उपस्थितिका लागि आग्रहसहित आमन्त्रण गरेका थिए ।
नेता भन्दा पनि कार्यकर्तालाई पार्टी प्रवेशमा मूख्य प्राथमिकतामा राख्दै एमाले अध्यक्ष केपी ओली देश दौडाहामा छन् ।
चुनावी अभियानमा पूर्वपश्चिम पुगेका ओली मंगलबारको कार्यक्रम भव्य बनाउन केन्द्रीय कार्यालय र सचिवालयलाई निर्देशन दिएका थिए । ओलीको निर्देशन बमोजिम कार्यालय सजाइएको थियो । निर्धारित समय सुरु भएपछि विभिन्न दल, पेशा, व्यवसायबाट आएका व्यक्तिहरू पार्टी प्रवेश गर्ने क्रम सुरु भयो ।
पार्टी प्रवेश कार्यक्रममा चर्चित अभिनेत्री करिश्मा मानन्धर, पूर्वमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन राजपाका महासचिव शिव पटेल लगायत नेताहरू मुठी उठाउँदै एमाले प्रवेश गरे ।
कार्यक्रममा उनीहरूले ओलीको प्रशंसा गर्दै देश विकास नेतृत्व एमालेले गर्ने जिकिर गरे । पूर्वमन्त्री सिंहले बजारमा खुद्रा पसलको आवश्यकता नभएको भन्दै मुलुक दुईदलीय व्यवस्थामा पुगेको दावी गरे ।
त्यस्तै अभिनेत्री मानन्धरले ओलीको प्रत्येक भाषण आफूलाई अत्यन्तै मनपर्ने भन्दै देशको कार्यभार ओलीको काँधमा आएको टिप्पणी गरिन् ।
त्यस्तै लोसपा परित्याग गरी एमाले प्रवेश गरेका पटेल मधेसले अब पहिचान नखोजेको जिकिर गर्दै ओलीको नेतृत्वमा समृद्धि आउने दावी गरे । उनले देशलाई केही गर्नुपर्छ भन्ने नेता ओली मात्र भएको भन्दै उनले ओलीको प्रत्येक भाषणमा देश विकासको हुटहुटी रहेको बताए ।
कार्यक्रममा हौसिएका ओलीले पटेललाई सम्बोधन गर्दै उनले एमाले प्रवेश गरेपछि बल्ल जय मधेस हुने बताए । उनले एमाले बाहेक अन्य दलले मधेसको जय गर्न नसक्ने दावी गरे । मधेस विरोधी छवि बनाएको एमाले यस अघिको चुनावमा अपेक्षित नतिजा हासिल गर्न सकेको थिएन । विगतमा आफ्नो कमजोरीलाई सुधार्दै ओली यसपटक मधेसी जनमतलाई आकर्षित गर्ने रणनीतिमा लागेका छन् । मधेस धेरै जनसंख्या र चुनावी क्षेत्र भएकाे भूगाेल हाे । यसैले यहाँकाे मतदाता तान्न प्रमुख दल नै मधेसकेन्द्रति अभियानमा छन् । क्षेत्रीय दलका रूपमा मधेसी दलकाे उपस्थिति पनि संघीय चुनावमा बलियाे छ । स्थानीय तहकाे निर्वाचनमा भने मूलधारका पार्टी नै बलिया देखिन्छन् ।
मधेसबारे ओलीले दिएको अभिव्यक्ति यस्तो छ
जय मधेस भन्नका लागि अब चाहिँ मज्जाले मिल्यो है । एमालेमा आएपछि जय मधेस बल्ल हुन्छ । हुलाकी राजमार्ग बनाउने एमाले, पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने एमाले, मदन भण्डारी राजमार्ग खोल्ने एमाले, उत्तर–दक्षिण मार्ग खोल्ने एमाले, चक्रपथ तथा शहरी विकास गर्ने एमाले, घर बनाएर जनतालाई दिने एमाले, चक्रपात हुने वित्तिकै बारा–पर्सामा आठ सय घर तत्काल बनाउने एमाले, सुनकोशी मरिन डाइर्सन ल्याउने एमाले । एमाले त हो मधेसको जय गर्ने पार्टी । जय मधेश भनेको एमालेले गर्छ । जय मधेस भन्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ । ढुक्क हुनुहोस् अब जय मधेस । बल्ल हुन्छ, जय मधेस । अहिलेसम्म तराईमा बाटो देखाउने काम भएन । कुनै पार्टीको पनि वडा, गाउँपालिकामा ध्यान गएन ।
प्रतिक्रिया