NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चुनाव नजिकिंदै गर्दा देउवा र पौडेल एउटै ‘लाइन’मा

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्नेमा मारामार बहस चलिरहँदा नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाकै लाइनमा उभिएका छन् । प्रदेश सभापति र जिल्ला गएका केन्द्रीय प्रतिनिधिहरूबाट सुझाव लिन केन्द्रीय समितिको बैठक बसिरहेका बेला नेता पौडेल देउवाकै लाइनमा देखिएका हुन् ।

नेता पौडेलले सानेपामा संचारकर्मीसँग कुरा गर्दै अहिलेको सत्ता गठबन्धन बचाएर चुनावसम्मै लानुपर्ने बताएका हुन् । चुनावी तालमेलको नीतिगत निर्णय कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले गर्ने जानकारी पौडेलले दिए ।

नेता पौडेलले अहिले तालमेलको सैद्धान्तिक सहमति गरी कुन स्थानीय तह कसले लिने भन्ने पछि निर्णय हुने पनि बताए । ‘केन्द्रीय समिति बैठकले चुनावी तालमेलको विषयमा छलफल गरेर एउटा टुंगो लगाउँछ’ पौडेलले भने, ‘धेरै केन्द्रीय सदस्यहरू तालमेल गरेरै चुनावमा जानपर्ने पक्षमा छन् । किनकी सत्ता गठबन्धनलाई बचाएर चुनावसम्मै जाँदा कांग्रेसलाई पनि बलियो बनाउन सकिन्छ । अहिले बैठकबाट सैद्धान्तिक निर्णय गरेर कहाँ कसले लिने र छोड्ने विषय पछि मिलाउन सकिन्छ ।’

चुनावी तालमेलमा देउवा र पौडेल एउटै लाइन

कांग्रेसमा डा. शेखर कोइराला पक्षले चुनावी तालमेलको विरोध गरिहेका बेला सभापति देउवा र नेता पौडेल तालमेलको पक्षमा खुलेरै बोलेका हुन् । देउवाले गत शुक्रबारको बैठकमा कांग्रेस कमजोर भएका ठाउँमा गरिने तालमेलाई अन्यथा लिन नहुने बताएका थिए । अझै पनि कतिपय ठाउँमा एमाले बलियो रहेको भन्दै देउवाले तालमेल गर्दा कांग्रेसलाई फाइदा नै पुग्ने बताएका थिए । देउवा निकटकै प्रदेश सभापतिसमेत केन्द्रले निर्णय गरेकै आधारमा नभई स्थानीय आवश्यकताको आधारमा केही ठाउँमा चुनावी तालमेल गर्न सकिने पक्षमा छन् । डा. कोइराला पक्षका प्रदेश सभापति तालमेलको विरोधमा छन् ।

तर नेता पौडेलले पनि देउवाले लाइन लिएका हुन् । यो सत्ता गठबन्धनलाई जोगाएर चुनावमा जाँदा कांग्रेस झन् बलियो हुने उनको भनाई छ ।
यसैबीच कांग्रेस नेता सुजाता कोइराला पनि चुनावी तालमेलको पक्षमा देखिएकी छिन् । संचारकर्मीसँग कुरा गर्दै कोइरालाले अहिलेको सरकार, प्रदेश सरकार र राष्ट्रिय सभामासमेत मिलेर चुनाव अघि बढेकोले चुनावमा पनि तालमेल गर्दा कांग्रेसको हितमा हुने बताएकी हन् ।

नेता पौडेल १४ औं महाधिवेशनमा पूर्व संस्थापनतिर नखुली तटस्थ बसेका थिए । आफ्नो पक्षमा नखुलेको भन्दै शेखर पक्ष उनीप्रति रुष्ट छ । बरु पौडेलको निकटता देउवासँगै बढ्दै गएको छ । केही दिन अघि पनि देउवा र पौडेल तनहुँको एक कार्यक्रममा सँगै देखिएका थिए । १४ औं महाधिवेशन अघिसम्म यी दुईबीच यस्तो मित्रवत व्यवहार कमै देख्न पाइन्थ्यो ।

पौडेल पूर्व संस्थापनको नेता बन्नबाट समेत चुक्दै गएको विश्लेषण भइरहेका बेला उनी देउवासँग नरम पनि देखिएका हुन् । पौडेल गत निर्वाचनमा तनहुँबाट पराजित हुन पुगेका थिए । यसै पार्टीको एउटा बलियो पक्षसँग मुद्दामा एकमत भएर जाँदा भोलिको निर्वाचनमा आफूलाई उठ्न र जित्न पनि सहयोग मिल्ने बुझाइ उनको हुन सक्छ । यसैले उनले देउवाकै शैलीमा चुनावी गठबन्धन र तालमेललाई प्राथमिकतामा राखेको बताइन्छ ।