एमाले हराउने सत्ता गठबन्धनको रणनीति : गठबन्धनले यसरी छान्ने छ देशभर स्थानीय तहका उम्मेदवार
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले सत्ता गठबन्धनबीच आगामी स्थानीय तहमा तालमेल गर्ने निर्णय लिएको दोस्रो दिन नै सत्ता गठबन्धनको बैठक बसेको छ । बैठकले वैशाख ३० मा ७५३ वटै स्थानीय तहमा हुने निर्वाचनमा एमालेलाई हराउने नीति अनुरुप एकतावद्ध भएर जाने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बलुवाटारमा बिहीबार बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । खनालका अनुसार ठूला छ महानगरपालिकाको उम्मेदवारीबारे केन्द्रबाटै निर्णय लिने सहमति भएको छ । अन्यको हकमा स्थानीय आवश्यकता अनुसार मातहतका समितिलाई जिम्मा दिने निर्णय भएको उनले बताए ।
दुई प्रक्रियाबाट उम्मेदवारी चयन गर्ने निर्णय गरेका सत्ता गठबन्धनले उम्मदेवार टुंग्याउन दलीय संयन्त्र बनाउने समझदारी गरेका छन् । यही संयन्त्रले महानगपालिकादेखि तल्लो तहका उम्मेदवारबारे सहमति जुटाउन सहजीकरण गर्नेछ ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसबाट नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए ।
चुनावी तयारीबारे सझा अवधारणा तय गर्न प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।
उम्मेदवार चयन गर्नु अघि सत्ता गठबन्धनले यस्तो संयन्त्र केन्द्रबाहेक नै तीन ठाउँमा बनाउँदैछ । जसमा प्रदेश, जिल्ला र पालिका तह छन् । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसरी तीन तहमा बनाइने संयन्त्रमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटै दलका नेता संयन्त्रमा रहने जानकारी दिए ।
यही संयन्त्रले यी पाँच दलको अवस्थाबारे पार्टीमा रिपोर्टिङ गर्नेछन् । दलहरूको अवस्था अनुसार त्यसपछि बल्ल कहाँ कसले उम्मदेवारी दिने भन्ने टुंग्याउने तयारी छ । तल्लो तहको दलीय परिस्थितिसहितको प्रतिवेदन २२ चैतसम्म केन्द्रमा पठाइसक्नुपर्ने समय तोकिएको पनि कार्कीले बताए ।
यसैबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सत्ता गठबन्धनलाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार बिहान भएको कार्यक्रममा देउवाले गठबन्धनलाई अझै एकतावद्ध बनाएर चुनावसम्मै जाने बतँएका हुन् ।
‘सत्ता गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेसकेका छाैं । हामी अझ एकतावद्ध रुपमा अगाडि बढ्छौं, गठबन्धन अगाडि बढ्छ,’ देउवाले भने, ‘अघि बढ्दा सानोतिनो अप्ठ्यारा आउन सक्छ हामी त्यसलाई पनि फुकाएर अघि बढ्छैं । नेताहरुले समाधान दिने हे भाग्ने होइन ।’
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया