NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नागार्जुनको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका यी ३६ वर्षीय युवा को हुन् ?

काठमाडौं ।  नागार्जुन नगरपालिकाको मेयर पदका लागि ३६ वर्षीय युवा राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए ।

उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्देश्य साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्धता नजनाइ राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने,’ अब पनि देश विकासको पद्धतिमा परिवर्तन भएन भने हामी ठूलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलंकाको अवस्थामा नपुग्ला भन्न सकिन्न ।’

नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने समेत उनले बताए । उनले भने, ‘हाम्रो लडाइँ कुनै राजनीतिक दलसँग होइन, प्रणालीको लागि हो । युवाहरूलाई रोजगारी दिन पर्यो । अरु कुरा चाहिएको होइन् ।’

०४२ सालमा केवलपुर, धादिङ्गमा जन्मिएका कोइरालाले विगत एक दशकदेखि युवा सशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन् । ०४७ मा परिवारसँगै काठमाडौं बसाइँ सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीति शास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए । अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि ०६९ मा स्थायी रूपमा नेपाल फर्केका हुन् ।

अहिलेसम्म ५० हजारभन्दा बढी युवालाई तालिम दिइसकेका कोइराला विभिन्न युवाले सञ्चालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथि प्रशिक्षकका साथ–साथै अन्य स्वयंसेवी भूमिकामा छन् । सयौँ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन् ।

स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपांगता र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताएका छन् ।