स्थानीय तह चुनाव : जहाँ मतदान हुँदैन

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा तमनखोला गाउँपालिका–६, बागलुङमा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे ।
यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् ।
गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश रसाइली तथा निर्मला विक र एमालेका तर्फबाट मैनदेवी छन्त्याल सदस्यमा निर्विरोध भएका थिए । वडाभित्रको मतभारका आधारमा पद विभाजन गरिएको थियो । त्यसअघि १५ वर्षसम्म जनप्रतिनिधि नहुँदा पनि अध्यक्ष र सदस्य तोकिएको कान्तिपुर दैनिकमा खबर छ ।
त्यतिबेला उनीहरूले सामाजिक क्षेत्रका काम गर्थे । अध्यक्ष भने कुलबहादुर नै थिए । ‘मैले लगातार २० वर्ष काम गरेँ,’ उनले भने,‘अब भने मलाई बस्ने मत छैन । नयाँ नेतृत्वका लागि छलफल हुँदैछ ।’
उनले युवालाई नेतृत्वमा ल्याउने तयारी भइरहेको जानकारी दिए । मिलेर काम गर्दा सफल भएको उनको अनुभव छ ।
प्रतिक्रिया