विवकेशीलले टुंग्यायो कामनपाको उम्मेदवार, बास्कोटा मेयर, तुलाधर उपमेयर

काठमाडौं । विवेकशील साझा पार्टीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार बनाउने निर्णय गरेको छ । विवेकशीलले समीक्षा बाँस्कोटा र कीर्ति तुलाधरलाई क्रमशः मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
“देशको राजधानी इमानदार, सक्षम र परिपक्व महिलालाई जिम्मा लगाऊँ : राजधानीको गौरव पुनर्स्थापित गरौं” नाराका साथ दुई महिलालाई अघि सार्ने निर्णय गरिएको सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जनाएका छन् ।
विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्वसंयोजकसमेत रहेकी मेयर उम्मेदवार बाँस्कोटा सो पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य हुन् । ३८ वर्षीय बाँस्कोटा अमेरिकाबाट कानूनमा स्नातकोत्तर हुन् । काठमाडौं क्षेत्र नं १ ‘क’ बाट गत प्रदेशसभा निर्वाचनमा सदस्यमा प्रतिस्पर्धा गरेकी उनी २७ प्रतिशत मतका साथ तेस्रो स्थानमा सीमित भएकी थिइन् ।
उपमेयर तुलाधर पनि विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसिजको आजसम्मका तीन महिला राष्ट्रिय अध्यक्ष मध्ये एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसिजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
विवेकशील साझा पार्टीले महानगरवासीलाई यस पटक ‘एक मौका’ दिन आग्रह गरेको छ ।
प्रतिक्रिया