NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बाबुकै पदचाप पछ्याउँदै प्रभा

काठमाडौं । भागबण्डाको राजनीतिमा नुवाकोटको विदुर नगरपालिका माओवादी केन्द्रलाई परे आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा यस नगरपालिकामा गठबन्धनको साझा उम्मेदवार प्रभा बोगटी बन्नेछिन् ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा कुन दललाई कुन पालिका दिने भन्नेमा अहिलेसम्म गठबन्धनले कुनै ठोस निर्णय गरेको छैन । विदुर पुरानो नगरपालिकासमेत रहेकोले कांग्रेस, एमाले र माओवादी केन्द्रले यस नगरपालिकालाई धेरै महत्वका साथ हेरिएको छ ।

यद्यपि माओवादी केन्द्र विदुर नगर समितिको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा बोगटीको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत रहेकी प्रभा ०५२ मा माओवादीले जनयुद्ध गर्दा स–परिवारसँगै युद्धमा होमिएकी थिइन् । नुवाकोटको साविक तुप्चे गाविसको अक्करे स्थायी घर भएकी उनले स्कुल पढ्दा अखिल क्रान्तिकारीको इकाई समितिमा क्रियाशील रहेकी थिइन् ।

उनी ०५९ सालमा माओवादीको पूर्णकालीन सदस्य भइ जनयुद्धमा सहभागी भएकी थिइन् । उनले पश्चिम कमाण्डको कार्यालयमा स्टाफ रही काम गरेकी थिइन्। जनयुद्धमा जनमुक्ति सेनामा रही रुकुमको खारा, बर्दियाका विभिन्न आक्रमणमा सहभागी भएकी थिइन् । उनी जनमुक्ति सेनामै रहँदा युद्धको रिपोर्टिङ र समाचार बनाउने गर्छिन् ।

माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत रहेकी प्रभा ०५२ मा माओवादीले जनयुद्ध गर्दा स–परिवारसँगै युद्धमा होमिएकी थिइन् । स्कुल पढ्दा उनी अखिल क्रान्तिकारीको इकाई समितिमा क्रियाशील रहेकी थिइन्

शान्ति प्रक्रियामा आइसकेपछि स्वेच्छिक अवकाश लिइ सहिद प्रतिष्ठानमा काम गरेकी थिइन् । देशैभरका सहिद बेपत्ता र घाइते योद्धाहरूको विवरण संकलन महत्पूर्ण भूमिका निर्वाह गरेकी थिइन् । लामो समय विभिन्न सञ्चारमाध्यममा रिपोर्टिङ तथा समाचार प्रस्तोता भएर काम गरेकी थिइन् ।

उनी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य हुँदै सचिव बनिन् । अहिले माओवादी केन्द्र विदुर नगर समितिको अध्यक्ष रहेकी रहेकी छिन् । शालिन र मिलनसार रहेकी प्रभा सहिद परिवारकोसमेत सदस्य हुन् । उनका भाइ रवि बोगटीलाई माओवादी युद्धको क्रममा सरकार पक्षका सुरक्षाकर्मीले हत्या गरेको थियो ।

बोगटीका एक दिदी रहेकी छिन् । उनका आमा राममाया बोगटी ०७० को दोस्रो संविधानसभामा सदस्य रहेकी थिइन् । बुवालाई नेपाली कम्युनिस्टका आदर्श, इमान्दार र निष्ठावान नेताका रूपमा चिनिन्छन् ।  प्रभाका बुवाले तुप्चेमा भएको आफ्ना सबै सम्पत्ति स्थानीय विद्यालयलाई दिएर माओवादी युद्धमा होमिएका थिए । उनको बुवाको ६२ वर्षको उमेरमा हृदयघातबाट ०७१ भदौ ३० मा निधन भएको थियो । उनी बुवाकै आदर्श र पदचाप पछ्याउँदै प्रभा माओवादीमा सक्रिय रहँदै आएकी छिन् ।

०७४ मा विदुरको नतिजा यस्तो छ :

प्रभा आफैँमा मेयरका लागि इमान्दार र कुशल भएपनि पदीय प्रतिस्पदर्धाको दौडमा उनी नयाँ उम्मेदवार हुन् । ०७४ मा यस नगरपालिकामा एमालेका सञ्जु पण्डितले ९ हजार ७१६ मत ल्याइ कांग्रेसका उम्मेदवार धु्रवप्रसाद अधिकारीलाई पराजित गरेका थिए । कांग्रेसका अधिकारीले ८ हजार ७४० मत ल्याएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार बनेका लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत ल्याइ तेस्रो स्थानमा रहेका थिए ।

यसपटक कांग्रेस–माओवादीसहित पाँचदलीय गठबन्धन भएकाले यो नगरपालिका कसको भागमा पर्छ अहिलेसम्म निश्चित भएको छैन । यदि गठबन्धनले नै निणर्य गरेर साझा उम्मेदवार घोषणा गरे प्रभाले मेयर जित्ने सम्भावना प्रवल देखिन्छ ।