NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र गरे चुप लागेर बसिँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई देखाएर स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

विप्लवलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चुनाव सार्ने षड्यन्त्र भइरहेको उनले जिकिर गरे ।

सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले विप्लवलाई बाहना बनाएर चुनाव सारे एमाले चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

‘०५९ मा चुनाव सार्ने अहिले सत्ताको नेतृत्व गरिरहेका छन् । अहिले पनि विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन्’, उनले भने, ‘बाहना बनाएर चुनाव सारे एमाले चुप लागेर बस्दैन ।’

ओलीले चुनाव सार्ने षड्यन्त्रकारीको मतियार नबन्न विप्लवलाई आग्रह गरेका छन् । विप्लव नेतृत्वको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले चुनावमा भाग लिन सकिने अमूर्त निर्णय गरेको थियो ।

निर्वाचन आयोगमा दल दर्ता नभएकाले विप्लव नेतृत्वको दलले आगामी चुनावमा भाग लिन पाउने छैन । त्यसकै लागि विप्लव दलका नेतादेखि प्रधानमन्त्री र राष्ट्रपति निवाससम्म धाइरहेका छन् ।