माओवादीको प्रचार सामग्रीमा कुलमानको तस्बिर दुरूपयोग

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर आफ्नो निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्रले तयार गरेको प्रचार सामग्रीमा घिसिङको तस्बिर दुरूपयोग गरिएको हो ।
‘भोट फर माओवादी’ लेखिएको प्रचार सामग्रीमा सो पार्टीका अध्यक्ष प्रचण्ड, नेता तथा अर्थमन्त्री जनार्दन शर्मापछि तेस्रो लहरमा घिसिङको तस्बिर राखिएको छ ।
प्रचार सामग्रीमा माओवादीले मुलुकलाई लोडसेडिङमुक्त गरेको जस लिँदै भोट मागेको छ । जसमा लेखिएको छ, ‘अँध्यारोबाट उज्यालोको यात्रा ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त तस्बिर आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गर्दै लोडसेडिङ अन्त्य एउटा फड्को भएको र पालो निःशुल्क बिजुली उपलब्ध गराउने भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको ।’
प्राधिकरणको प्रबन्ध निर्देशकको पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गराएर वाहवाही कमाएका घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । तथापि, उनी अहिलेसम्म माओवादीमा खुलेका भने छैनन् ।
घिसिङले आफूलाई जानकारी नै नदिई माओवादी केन्द्रले आफ्नो तस्बिर प्रचार सामग्रीमा राखेको नेपालवाचलाई बताए । ‘प्रचार सामग्रीमा मेरो तस्बिर प्रयोग गर्नेबारे माओवादी केन्द्रले मसँग सोधेको छैन,’ उनले भने ।
त्यसो त, कुलमानलाई देखाएर माओवादीले राजनीतिक शक्ति आर्जन गर्न खोजेको यो पहिलो घटना भने होइन । यसअघि सम्पन्न स्वबियू निर्वाचनको प्रचार सामग्रीमा पनि यसैगरी कुलमानको तस्बिर प्रयोग गरिएको थियो । यसरी तस्बिर प्रयोग हुँदा सर्वसाधारणबाट आलोचना भए पनि कुलमानले भने कुनै प्रतिक्रिया दिने गरेका छैनन् ।
प्रतिक्रिया