NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पोखरा महानगरमा एमालेले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि चुनाव हुँदै

काठमाडौं । नेकपा एमाले पोखरा महानगरको मेयरमा उम्मेदवारका आकांक्षी धेरै भएपछि निर्वाचन प्रकृयाबाट टुंगो लगाइने भएको छ । पार्टी उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षका दुई दर्जन नेताहरूले उम्मेदवारीमा आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छनोट हुन सकेन । मंगलबार बसेको महानगर कमिटी बैठकमा गुरुङ, अर्याल र अधिकारी पक्षका १२ जनाले तीन–तीन हजार शुल्कसहित मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

बिहीबारसम्म सर्वसम्मत उम्मेदवार चयन हुन नसक्दा निर्वाचन समितिले शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्मका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । अब निर्वाचन प्रक्रियाबाट एक महिलासहित ३ जनाको नाम निर्वाचित गरी केन्द्रमा पठाउने छ । एमाले महानगर कमिटी सदस्यहरू मध्येबाट सबैभन्दा बढी मत ल्याउने महानगरको उम्मेदवार बन्नेछन् । विधान अनुसार एमालेको महानगर कमिटी एक सय एक सदस्य रहेको छ । यद्यपि सर्वसम्मत उम्मेदवार छनोटका लागि प्रयास जारी रहेको संगठन विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिए ।

‘निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनोट गर्नुभन्दा पनि सर्वसम्मत निर्णय लिन अहिले हामी बैठक बसिराखेको छौं’, अधिकारीले भने, ‘अन्तिम अवस्थासम्म पनि सर्वसम्मतको प्रयास जारी रहन्छ । सहमति भएन भने लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर टुंग्याइन्छ ।’

समूहभित्रै आकांक्षीको ताँती

प्रभावशाली नेताहरू गुरुङ, अर्याल र अधिकारीको क्षेत्रसमेत रहेको महानगरमा उनीहरूकै हस्तक्षेपले उम्मेदवार चयन हुन नसकेको हो । आफू अनुकुल व्यक्तिलाई ल्याउन यी नेता नै तीव्र दौडधूपमा छन् । सचिव अर्यालको हस्तक्षेप प्रत्यक्ष नदेखिएपनि गुरुङ र अधिकारी आफू पक्षका उम्मेदवार ल्याउन पार्टी अध्यक्ष केपी ओलीसँग लबिङ गरिरहेको स्रोतले बताएको छ । कात्तिकमा भएको एमाले महानगरपालिका अधिवेशनमा गुरुङ पक्षका उम्मेदवार दिलीप न्यौपाने अध्यक्षमा चयन भएका थिए । नगर, जिल्ला कमिटी सबैमा गुरुङपक्ष हावी भएकोमा असन्तुष्ट रहेका अधिकारी मेयरको उम्मेदवार आफ्नै पक्षको हुनुपर्ने अडान लिएका छन् ।

को–को छन् आकांक्षी ?

मेयरका लागि पार्टीमा निवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी गुरुङ पक्षका नेताहरू हुन् ।

यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी अधिकारी पक्षका हुन् । अर्याल पक्षका आकांक्षी प्रत्यक्ष रूपमा नखुले पनि उनको सहयोग गुरुङ पक्षलाई रहनेछ ।

त्यस्तै उपमेयरमा वामदेव ढुंगाना, टीकाराम पंगेनी, सुष्मा पौडेल, तेजनारायण अधिकारी लगायत ११ जनाले आकांक्षा देखाएका छन् ।