NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चुनावी फण्डा : आमसभामा उपस्थित संख्या ३५ सय, एमाले प्रवेश गर्ने ३८ सय !

काठमाडौं । चुनाव नजिकिंदै जाँदा दलबदलका क्रम बढ्न थालेका छन् । प्रमुख राजनीतिक दहरूले आफ्नो पक्षमा जनमत रहेको देखाउन प्रत्येक दिन जस्तो पार्टी प्रवेश कार्यक्रम राखेका छन् ।

एमाले, कांग्रेस, माओवादी लगायतका दलका नेताहरू चुनावी माहोल बनाउन देश दौडाहामा छन् । त्यति नै मात्रामा अन्य दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू आफ्नो दलमा प्रवेश गरेको मिडियाबाजी र प्रचारबाजी गराइरहेका छन् । कतिपय घटना तथ्यको गहिराइमा नपुगी हचुवा र हावादारी प्रचारबाजी पनि भइरहेका छन् । यस्तै रमाइलो घटना सुनसरीमा देखिएको छ ।

नयाँ वर्षको अघिल्लो दिन चैत ३० मा एमाले सुनसरीको आयोजनामा इनरुवास्थित महेन्द्रचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली त्यहाँ पुगेका थिए । एक तथ्य अनुसार सभामा करिब ३५ सय एमालेका नेता तथा कार्यकर्ता सहभागी थिए ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले अन्य दलबाट एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका थियो । चुनावका मुखैमा हुने यस्ता सभामा नेताका भाषणभन्दा पार्टी प्रवेश कार्यक्रम बढी रोचक नै हुने भयो । त्यसैले इनरुवाको आमसभामा ओलीको भाषण भन्दा अन्य पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेको संख्याप्रति आकर्षण थियो ।

नेपाल प्रहरीको गुप्तचर विभागले उक्त आमसभामा बढीमा ३५ सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको दावी गरेको छ । त्यही अनुसार रिपोर्टलाई प्रधानमन्त्री देउवासमक्ष पेश गरिएको थियो । जम्मा ३५ सय नेता–कार्यकर्ता सहभागी भएको आमसभामा एमालेले विभिन्न दल परित्याग गरेर ३८ सय कार्यकर्ता एमाले प्रवेश गरेको दावी गरेको छ ।

गुप्तचर निकायको रिपोर्ट अनुसार जम्मा ३५ सय जना सहभागी आमसभामा ३८ सय जना मानिसहरू कहाँबाट एमाले प्रवेश गरे भन्ने एउटा गम्भीर प्रश्न खडा भएको छ ।

तर गुप्तचर निकालयले पेश गरेको रिपोर्टप्रति एमाले स्थानीय कार्यकर्ताले खण्डन गरेको छ । वडा नंम्बर ३ का वडा सदस्यसमेत रहेका कृष्ण पोखरेलले उक्त आमसभामा १७ हजार बढी मानिसहरू जम्मा भएको दावी गरेका छन् ।

‘चैत ३० मा बृहत्त आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष यहाँ आउनुभएको थियो । त्यहाँ १७ हजार बढी मानिस अध्यक्षको भाषण सुन्न आएका थिए’, उनले भने, ‘त्यहाँ विभिन्न पार्टीबाट एमाले प्रवेश गर्न तीन हजार जनाले लिस्ट पठाएका थिए । तर भौतिक रूपमा एक हजार पाँच सय हाराहारीमा उपस्थिति रहेको थियो ।’

पोखरेलका अनुसार ०७४ को भन्दा एमालेको उपस्थिति राम्रो भएकाले एक्ला–एक्लै चुनावी प्रतिस्पर्धा गरे इनरुवा नगरपालिका सबै एमालेले जित्ने दावी गरे । विपक्षीले गठबन्धन कसिलो बनाएको खण्डमा एमालेलाई अप्ठ्यारो पर्न सक्ने बताए ।

‘सुनसरीको इनरुवा नगरपालिका – ३, महेन्द्रचोकस्थित खाली मैदानमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली समेत करिब ३५०० जना उपस्थितमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा अन्य दल परित्याग गरी करिब ३८०० जना नेकपा एमाले प्रवेश गरेको भनी एमालेबाट दावी भएको छ’, गुप्तचरको रिपोर्टमा उल्लेख छ ।

माथिको रिपाेर्ट अनुसार कि त गुप्तचर निकायले दिएको रिपाेर्ट झुट भएको हुन सक्छ कि त एमालेको दावी झुटो हुन सक्छ ।