NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कहाँ–कहाँ दिँदैछ विप्लवको पार्टीले उम्मेदवारी ?

काठमाडौं । स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने नीति लिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता–कार्यकर्ता निर्वाचिनकेन्द्रित गतिविधिमा सक्रिय बनेका छन् । चुनावी प्रतिस्पर्धामा संलग्न हुने भएपछि सम्भावित उम्मेदवार भेला, सभा र घरदैलोमा जुटेका हुन् ।

निर्वाचन आयोगमा दल दर्ता नभए पनि स्वतन्त्र उम्मेदवार उठाइ निर्वाचनमा भाग लिने उसको तयारी छ । एमसिसी परियोजना र भ्रष्टाचारविरोधी दलसँग सहकार्य गरेर निर्वाचनमा भाग लिन नेकपाले निर्देशन दिइसकेको छ ।

जिल्लाका हरेक स्थानीय तहमा कार्यकर्तालाई उम्मेदवार बन्न पार्टीले विशेष निर्देशन दिएको नेकपा रोल्पा सचिव दिनेशविक्रम चन्दले बताए । ‘सके आफैं उम्मेदवार बन्ने, नसके असल एवं स्वतन्त्र व्यक्ति उम्मेदवार बनाइ सघाउने योजनासहित केन्द्रीय तहका नेतासमेत गाउँगाउँमा खटिएका छन्,’ उनले भने, ‘जिल्लाका सबै तह र वडासम्मै उम्मेदवारी दिने तयारी छ ।

पार्टीको निर्देशनपछि केन्द्रीय सदस्यहरू चूडामणि वली, केशबहादुर बाडा मगर, जिल्ला सचिव चन्द, पूर्वजिल्ला सचिव सन्तोष सुवेदी, जिल्ला नेता अमित घर्ती मगरलगायत नेता चुनावी अभियानमा खटिएका छन् ।

वली गंगादेव गाउँपालिकामा, बाँठा माडी गाउँपालिकामा, घर्ती मगर थवाङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्ने निश्चितजस्तै भएको सचिव चन्दले जानकारी दिए ।

त्यसैगरी, चन्द परिवर्तन गाउँपालिका र सुवेदी सुनील स्मृति गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिने तयारीमा छन् । सुवेदी ४ वर्षअघि नेकपा प््रवेश गरेका थिए । लामो समय जेल बसेका जिनाबाङ रोल्पाका वली पार्टीका न्याय विभाग प्रमुखसमेत हुन् ।

स्थानीय निर्वाचनमा भाग लिने–नलिनेबारे केन्द्रीय कमिटीको बैठकमा लामो छलफलपछि मात्रै नेकपा नेतृत्व निर्वाचनलाई सदुपयोग गर्ने निष्कर्षमा पुगेको हो । निर्वाचन प्रक्रियामा सामेल हुँदा जनताले प्रत्यक्ष रूपमा नेता छान्न पाउने भएकाले भाग लिनु उचित भएको पार्टीको निष्कर्ष छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

रोल्पाबाहेक अन्य स्थानीय तहमा पनि विप्लवले उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्र उम्मेदवारी दिन सर्कुलर गरिएको छ ।