कर्णालीका नौ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार, कहाँ को ?

कर्णाली । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशमा उम्मेदवार छनोट गर्ने कार्यलाई तीव्रता दिएको छ । केही स्थानीय तहबारे टुंगो लागिसकेको छ भने केहीमा गृहकार्य भइरहेको छ ।
एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले नौ स्थानीय तहको प्रमुख–उपप्रमुखको टुङ्गो लगाइसकेका छन् । “कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुङ्गो लगाइएको छ, स्थानीय कमिटीले टुङ्गो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुङ्गो लगाउनेछ”, प्रदेश अध्यक्ष शाहले भने, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौँ ।”
हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकाङ्क्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।
एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा वीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन् ।
प्रतिक्रिया