NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तनहुँमा पौडेललाई फेरि झट्का, छोरालाई जिताउन गोविन्दराज जोशी एमालेसँग मिलेर चुनाव लड्ने

काठमाडौं । गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने सहमतिलाई चुनौति दिँदै तनहुँमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

एमाले–जोशी समूहले तालमेललाई प्रभावकारी बनाउन दुवै पक्षबाट चार–चार जना रहनेगरी चुनावी परिचालन समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ ।

जोशी निवास दमौलीमा शनिबार भएकोे छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएसँगै रामचन्द्र पौडेललाई ठूलो झट्का लागेको छ । काँग्रेस तनहुँलाई एक बनाएर लैजान जोशीले ल्याएको प्रस्तावलाई पौडेलले वेवास्ता गरिदिएपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो ।
जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवार भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । दीपक गोविन्दराजका छोरा हुन् । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु परेको नेता जोशीले जानकारी दिए ।

अख्तियार दु्रुपयोग गरी भ्रष्टाचार गरेको आरोप खेप्दै आएका जोशी लामो समय सत्ता बाहिर रहेका छन् ।

०७४ को संघीय निर्वाचनमा सांसदको टिकट नपाएपछि रुष्ट भएका जोशीले रामचन्द्र पौडेललाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतिनिधिसभा निर्वाचन अघि तनहुँमा जोशी र एमालेबीच सहमति भए फेरि पनि पौडेललाई चुनाव जित्न कठिन हुन सक्नेछ । किनकी जोशी आफू जित्नेभन्दा पनि पौडेललाई हराउन सक्रिय हुने बताइन्छ ।

जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट संघीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा स्वतन्त्र रूपले चुनाव लड्ने घोषणा गरेका छन् ।