एमाले महासचिवको हिसाबमा माधव नेपालको शक्ति कति ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी संसदीय निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने बन्ने दाबी गर्दै माधव नेपालको शक्ति शुन्य बराबर भएको जनाएका छन्।
अहिले एमाले ठूलो दल हुँदाहुँदै पनि परमादेशबाट षड्यन्त्र गरी हटाएको आरोप लगाउँदै उनले आगामी दिनमा परमादेशलाई जनादेशले विस्थाापित गर्ने जिकिर गरे ।
गठबन्धनको कुनै भविष्य र उद्देश्य नभएको जिकिर गर्दै उनले एमालेसँग मात्रै देश विकासको ठोस एजेण्डा भएको बताए ।
पार्टी विभाजनबाट एमालेलाई कुनै क्षति नभएका दाबी उनको छ । एमाले प्रचार विभागको फेसबुक लाइभमा उनले माधव नेपालको पार्टीसँग २ प्रतिशत पनि मतदाता नभएको भन्दै माधव नेपालको शक्ति खुम्चिएको बताए ।
‘०५४ मा वामदेवले आधा पार्टी विभाजन गर्दासमेत शून्य सिटमा झर्नुप¥यो । अहिले जनप्रतिनिधिको आधारमा विभाजन भएको होइन । अध्यादेशमार्फत् केन्द्रीय कमिटीबाट २० प्रतिशत चोइटिएको हो’ उनले भने, ‘जनप्रतिनिधिको हैसियतमा १० प्रतिशतमा झरेको छ ।
कार्यकर्ताको बीचमा जाँदा ४ प्रतिशत छ । मतदातामा जाँदा २ प्रतिशत पनि माधव नेपालसँग छैन ।’
जनमत नभएकाले गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको भएपनि अब त्यो सम्भव नभएको उनले बताए । पार्टीको घोषणापत्रको प्रारम्भिक चरणको छलफलका लागि सचिवालयको बैठक आज बस्ने जानकारी दिँदै पार्टी स्थापना दिवस वैशाख ९ मा घोषणापत्र सार्वजनिक हुने पोखरेलले बताए ।
प्रतिक्रिया