NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

६ महानगरमा मेयरको उम्मेदवार बन्न एमालेबाट आकांक्षी २५ जना को– को हुन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेमा काठमाडौंसहित ६ महानगरपालिकामा मेयरको उम्मेदवारी सिफारिस भइसकेको छ ।
ललितपुर, भरतपुर र वीरगञ्ज महानगरका सर्वसम्मत मेयरको उम्मेदवार भइसकेका छन् । काठमाडौं, पोखरा र विराटनगरमा आकांक्षी बढी भएपछि सबै जनालाई सिफारिस गरिएको छ ।

सबैभन्दा बढी मेयरको उम्मेदवारको आकांक्षी पोखरामा रहेका छन् । महानगरको उम्मेदवार बन्नका लािग १२ जनाले निवेदन दिएका थिए । गत शुक्रबार उम्मेदवार छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र संगठब विभाग प्रमुख खगराज अधिकारीसहित बसेको प्रदेश कमिटी बैठकले आकांक्षी सबैलाई सिफारिस गर्ने सहमति भएपछि विवाद अन्त्य भएको थियो ।

मेयरको उम्मेदवारी दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी गुरुङ पक्षका नेताहरु हुन् ।
यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी अधिकारी पक्षका हुन् । अर्याल पक्षका आकांक्षी प्रत्यक्ष रूपमा नखुले पनि उनको सहयोग गुरुङ पक्षलाई रहनेछ ।

थापा ०४९ मा पोखरा नगरपालिकाका निर्वाचित मेयर हुन् । आचार्य अनेरास्ववियुको पूर्व उपाध्यक्ष हुन् । पहरी युवा संघका पूर्वअध्यक्ष हुन् ।
त्यस्तै काठमाडौं महानगरमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । शाक्य वर्तमान मेयर हुन् । मानन्धर पूर्वमन्त्री तथा संघीय सांसद हुन् । स्थापित पूर्वमेयर तथा वाग्मती प्रदेश सभाका सदस्य हुन् । देउला महानगर कमिटी अध्यक्ष हुन् । पन्त जिल्ला कमिटी सदस्य रहेका छन् ।

त्यस्तै ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरमा सर्वासम्मत उम्मेदवार छनोट गरेको छ । मञ्जली शाक्य उपमेयर सिफारिस भएका छन् । ब्यञ्जनकार ललितपुर एमालेका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य कमिटी सदस्य हुन् । शाक्य ललितपुर महानगरकी अध्यक्ष हुन् । ब्यञ्जनकार गत निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनसँग ३२६ मतको झिनो मतले पराजित भएका थिए ।

त्यस्तै भरतपुर महानगरमा वाग्मती प्रदेशका सदस्य विजय सुवेदी सर्वसम्मत सिफारिस भएका छन् । उनलाई केन्द्रीय सदस्य एवं चितवनका इन्चार्ज देवीप्रसाद ज्ञवालीले प्रस्ताव गरेका थिए । सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।

यसैगरी वीरगञ्जमा विजय सरावगी सर्वसम्मत रूपमा एमालेबाट मेयरका उम्मेदवार छानिएका छन् । सरावगी ०७४ मा संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । गत महिना मात्र उनी जसपा परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

विराटनगर मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । साह केन्द्रीय सदस्य, बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा महानगर कमिटी अध्यक्ष हुन् ।

देशभर ६ महानगर र ११ उपमहानगरको मेयर÷उपमेयर केन्द्रले छनोट गर्ने हुँदा सर्वसम्मत नभएका बाँकी उम्मेदवार छनोट गर्न प्रदेश कमिटीले केन्द्रलाई सिफारिस गरेको छ ।