NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पोखरा नेकपा एसलाई दिने निर्णयलगत्तै कांग्रेसमा बबन्डर, कांग्रेस कार्यालयमा तालाबन्दी

काठमाडौं । कांग्रेसको पकड क्षेत्र रहेको पोखरा, भरतपुर र वीरगञ्ज भागबण्डामा अन्य दलले पाएपछि कांग्रेस भित्र तीव्र असन्तुष्टि बढेको छ ।

मंगलबार बसेको सत्ता गठबन्धन दलको बैठकले ६ महानगरमध्ये भरतपुर माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले लिने सहमति गरेको थियो । काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसको भागमा परेको छ ।

तर सहमतिको विरोध गर्दै कांग्रेस पोखरा महानगर समितिले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै कांग्रेस कास्की कार्यालयमा तालबन्दी गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पोखरा महानगर समितिले सर्वसम्मत रूपमा मेयर र उपमेयरको उम्मेदवार सिफारिस प्रक्रियामा रहेको अवस्थामा एकीकृत समाजवादीलाई प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘महानगर समितिलाई बेवास्ता गरी गण्डकी प्रदेश र कास्की जिल्लाका सभापतिलाई बोलाई पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई प्रस्ताव गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सहमतिले कांग्रेस महागर समितिलाई उपेक्षा गरिएको र आत्मसम्मानका गम्भीर चोट पुगेको छ’ उनीहरूको विज्ञप्तिमा उल्लेख छ ।

सचिव गणेशबहादुर थापा र टुकराज बास्तोलाले संयुक्त हस्ताक्षर जारी गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । उक्त निर्णय नसच्याएसम्म थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

मंगलबारमात्रै गण्डकी कांग्रेस सभापतिसहितका नेताले सभापति देउवालाई भेटेरै ६० हजार बढी भोट भएको पार्टीले अर्को पार्टीमा भोट हाल्न नसक्ने बताएका थिए । तर सभापति देउवाले गठबन्धन दलका लागि बाध्यता भएको भन्दै मिलेर अघि बढ्न निर्देशन दिए ।

पोखरामा मात्रै होइन चितवनको भरतपुर महानगरापालिकाको नेतृत्व माओवादीलाई दिएकोप्रति पनि कांग्रेस भरतपुरमा तीव्र असन्तुष्टि छ ।
एकीकृत समाजवादीले हैसियतभन्दा बढी सिट संख्या दावी गरेको भन्दै एकीकृत समाजवादी बाहेकका दलहरूसँग तालमेल गर्ने कांग्रेस नगर समितिले मंगलबार निर्णय गरेको थियो ।

केन्द्रमा शीर्ष नेताहरूबीच ५० प्रतिशत स्थानमा कांग्रेस र अन्यमा बाँकी दलहरूलाई दिने गरी गठबन्धनले चुनावी तालमेल गर्नेबारे छलफल केन्द्रित भइरहेको छ । गठबन्धन दलबीच महानगरको भागबण्डा विवाद हल भएपनि ११ उपमहानगरको विवाद सुल्झिसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष