NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एमालेले वैशाख १० मा महानगर र उपमहानगरका सबै उम्मेदवार टुंगो लगाउने

काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको टुंगो वैशाख १० गते लगाउने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट आएका आकांक्षी उम्मेदवारबारे छलफल भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

‘आजको बैठकमा सातै प्रदेशबाट पठाएका महानगर र उपमहानगरका आकांक्षी उम्मेदवारबीच छलफल भयो’, उनले भनिन्, ‘यस विषयमा टुंगो लगाउन वैशाख १० गते दिउँसो ३ बजे सचिवालयको बैठक बोलाइएको छ ।’

त्यस्तै पोखरा महानगरपालिकामा सबैभन्दा बढी आकांक्षी देखिएकाले त्यस विषयमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको जिकिर गरिन् ।

‘धेरै आकांक्षी देखिएको पोखरामा कुन प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने भन्नेबारे आजको बैठकमा छलफल भयो’, उनले भनिन्, ‘तर निष्कर्षमा पुगेका छैनौं । प्रदेश वा संघीय सांसद भएका व्यक्तिको सम्बन्धमा के गर्ने भन्ने विषयमा १० गते नै टुंग्याउँछौं ।’

त्यस्तै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र शुक्रबार दिउँसो १ बजे सार्वजनिक गर्ने अर्यालले बताइन् । घोषणापत्रलाई अन्तिम रूप दिइ बैठकले पारित गरेको पनि उनले बताइन् ।