NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चुनावी तालमेलविरुद्ध कांग्रेसमा एकै दिन ७ ठाउँमा विद्रोह, कहाँ के के भयो ?

काठमाडौँ । सत्तारुढ ५ दलले स्थानीय तह निर्वाचनमा वडास्तरसम्म गठबन्धन गरेर जाने निर्णय गरेका छन् । सोही निर्णयअनुसार गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा भागबण्डा टुंग्याएको छ ।

नगरपालिका र गाउँपालिकामा पनि गठबन्धनको तयारीमा सत्तारुढ दलहरू गृहकार्यमा व्यस्त छन् । केन्द्रमा सत्तारुढ दलहरूवीच गाउँपालिकाको वडासम्म गठबन्धनको गृहकार्य भइरहँदा नेपाली कांग्रेसका कार्यकर्ताहरूले भने गठबन्धनप्रति आपत्ति जनाउने, विद्रोह गर्ने र उम्मेदवारी घोषणा गर्ने कामलाई तीव्रता दिएका छन् ।

सिद्धान्त नै नमिल्ने समूहसँग गठबन्धन गरेको भन्दै झापाका कांग्रेस क्षेत्रीय प्रतिनिधिहरु छत्रबाबु ओझा र रुद्रमणि भट्टराईले पार्टी नै परित्याग गरे । उनीहरू कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका छन् ।

यस्तै सुनसरीस्थित धरान उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष अजय राईसहित २० जनाको समूहले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेका छन् । उनीहरूले गठबन्धनप्रति नै आपत्ति जनाएका छन् ।

धनुषाको जनकपुरधाम नगरपालिकाको प्रमुख जसपालाई दिएको विरोधमा कांग्रेसले प्रदर्शन गरेको छ । निर्णय सच्याउन केन्द्रलाई चेतावनी दिदै अन्यथा स्वतन्त्र उम्मेदवार उठाउने देखि गठबन्धनलाई भोट नहाल्ने चेतावनी दिएको छ ।

यस्तै हेटौडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिएकोमा विरोध जनाउँदै कांग्रेस जिल्ला उपसभापति आनन्द कठायत लगायत २५ जनाले सत्ता गठबन्धनको निर्णयमा आपत्ती जनाएका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने भन्दै केन्द्रलाई चेतावनी दिएका छन् ।

उता नुवाकोटका १९ वटा कांग्रेसको वडा सभापतिले जिल्लामा गठबन्धन नगरी एक्लै चुनावमा भाग लिनुपर्ने जिकिर गरेका छन् । गठबन्धन गरेमा आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएर भएपनि गठबन्धनलाई साथ नदिने चेतावनी दिएका छन् ।

यस्तै पोखरा महानगरपालिका प्रमुखको पद सत्ता गठबन्धनको नाममा नेकपा एकीकृत समाजवादीलाई दिएको विरोधमा कास्की कांग्रेसका जिल्ला नेताहरूले विद्रोहको चेतावनी दिएका छन् । उनीहरूले केन्द्रको निर्णय अस्वीकार गर्ने चेतावनी दिएका हुन् । दार्चुलामा सत्ता गठबन्धनबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै लालबहादुर धामी सहित १० जनाले पार्टीबाटै राजीनामा दिए ।

ताजा अपडेट

नेपालवाच विशेष