NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमालेले लगायो ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो, कहाँ को ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचन आउन १९ दिन बाँकी छँदा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले नगर कमिटीले गरेका सिफारिसमध्येबाट उम्मेदवार टुंगो लगाएको हो ।

काठमाडौं महानगरपालिकामा केशव स्थापित मेयर र सुनीता डंगोल उपमेयर बनउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार, उपमेयरमा मञ्जली शाक्य, पोखराको महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई एमालेले मैदानमा उतार्ने भएको छ । भरतपुर र वीरगञ्जको मेयरमा यसअघि नै क्रमशः विजय सुवेदी र विजय सरावगी उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो ।

विराटनगर महानगरपालिकामा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

त्यसैगरी ९ उपमहानगरपालिकाका मेयर उम्मेदवार पनि एमालेले टुंग्याएको छ । यीमध्ये केहीमा उपमेयरबारे शनिबार निर्णय हुन सकेन ।

धनगढीको मेयरमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारू, नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल, तुलसीपुरको मेयरमा टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डिसीलाई उम्मेदवार बनाउने निर्णय लिइएको छ ।

बुटवल मेयरमा बाबुराम खड्का, उपमेयरमा सावित्रादेवी अर्याल, हेटौंडामा अनन्त पौडेल मेयर र सुमित्रा काफ्ले उपमेयर उम्मेदवार बनाइएका छन् । एमाले सचिवालय बैठकले धरानको मेयरमा मञ्जु भण्डारी, उपमेयरमा पदम लिम्बु, इटहरीको मेयरमा यमबहादुर सुब्बा, उपमेयरमा संगीता चौधरी र कलैयाको मेयरमा विनोद शाह उठाउने निर्णय पनि शनिबार गरेको छ ।