NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अर्जुननरसिंह केसीले किन राखे पाँच बुँदे फरक मत ?

काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीसमक्ष ५ बुँदे फरक मत राखेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा केसीले ५ बुँदे फरक मत राखेका हुन् ।

गठबन्धन र तालमेलमा पार्टी केन्द्रले हस्तक्षेप गरेको, तालमेल र भागबण्डाको मापदण्डको बैठकमा प्रस्तुत नभएको, उम्मेदवार चयनको प्रक्रियामा वैधानिक व्यवस्थालाई ख्याल नगरिएको, संसदीय बोर्ड गठन नगरी टिकट वितरण गरिएको सहितका विषयमा फरक मत राखेका हुन् ।

यस्ता छन् केसीका फरकमत

आदरणीय सभापतिज्यू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यसम्पादन समिति
केन्द्रीय कार्यालय,
बीपी नगर, सानेपा
विषय : फरक मत ।

१. नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेल बारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णय विरुद्ध केन्द्रीय हस्तक्षेप भएको,

२. महानगरपालिका र उपमहानगरपालिकाको पाँच पार्टी गठबन्धनबीच भएको तालमेल र भागबण्डाको मापदण्ड काँग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएको,

३. महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको,

४. पदाधिकारी वा पूर्वपदाधिकारी लगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभै अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियामा,

५. नेपाली काँग्रेसको विधानको धारा ३० र ३१ बमोजिम :
क. जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था छ ।
ख. सम्बन्धित जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश संसदीय समितिका बैठकमा सम्बन्धित जिल्लाका विषयमा निर्णय गर्दा सो जिल्लाको केन्द्रीय सदस्यलाई आमन्त्रण गर्नुपर्ने वैधानिक व्यवस्था छ, तर धेरै ठाउँमा यो प्रक्रिया अवलम्बन गरिएको छैन ।
ग. निर्वाचनमा उम्मेद्वारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले,
उपरोक्त विषय र प्रक्रियामा मेरो फरक मत रहेकोले आदरणीय सभापति समक्ष प्रस्तुत गरेको छु ।

अर्जुननरसिंह केसी
सदस्य, केन्द्रीय कार्यसम्पादन समिति
नेपाली काँग्रेस

ताजा अपडेट

नेपालवाच विशेष