मतदाता प्रभावित पार्ने उम्मेदवारको जुक्ति- जन्मदिन पुसमा, सेलिब्रेसन वैशाखमा !
काठमाडौँ । रौतहटको एक स्थानीय तहका प्रमुख पदका उम्मेदवारको जन्मदिन पुस १७ गते हो । उनको नागरिकतामा पनि त्यही विवरण उल्लेख छ । उनले हरेक पुस १७ लाई जन्मदिन मानेर उत्सव मनाउँदै आएका छन् । विगतमा झै गत पुस १७ मा पनि उनले परिवार र साथीभाइका साथ जन्मदिन मनाए ।
उनले अर्को जन्मदिन मनाउन अझै आठ महिना र केही दिन बाँकी छ । तर पछिल्लोपटक जन्मदिन मनाएको ४ महिना पूरा नहुँदै उनले ‘अग्रिम जन्मदिन’को तयारी गरेका छन् ।
भोज, भतेर र पार्टी गर्न निर्वाचन आचारसंहिताले रोकेपछि मतदाता प्रभावित पार्न ती उम्मेदवारले यस्तो अनौठो जुक्ति अपनाएका हुन् ।
निर्वाचन आचारसंहितामा उम्मेदवारलाई भोज, भतेर पार्टी गर्न बन्देज लगाइए पनि विवाह, जन्मदिनलगायतका उत्सवमा गर्न छुट दिइएको छ । त्यसैले यस्ता छिद्र प्रयोग गरेर मतदाता रिझाउने जोखिम बढेको छ । विगतमा पनि राजनीतिक दल र उम्मेदवारले यस्ता चलाखी गर्ने गरेका थिए ।
उम्मेदवारले आफ्नो पक्षमा माहोल सिर्जनाका निम्ति अग्रिम जन्मदिन मनाएको सूचना निर्वाचन आयोगसम्म पुगेको छ, जसले त्यसका पदाधिकारी र कर्मचारीलाई झस्काएको छ ।
आफ्नो पक्षमा माहोल बनाउन अग्रिम बर्थडे मनाइएको सूचना प्राप्त भएको र यस्ता प्रवृत्तिप्रति आयोग चनाखो बनेको एक पदाधिकारीले बताए ।
‘हामीले त्यस्ता उम्मेदवारमाथि निगरानी बढाएका छौं,’ ती पदाधिकारीले भने ।
ती पदाधिकारीले ठट्यौली शैलीमा यस वर्ष उम्मेदवारको मात्र नभएर तिनका छोरा–छोरीको जन्मदिन पनि अग्रिम हुनसक्ने बताए । उनले भने, ‘जन्मेकै दिन जन्मदिन मनाइदिए हुन्थ्यो भन्ने आयोगको चाहना हो ।’
वैशाख ३० का लागि तय स्थानीय तह निर्वाचन आउन अब मात्रै १७ दिन बाँकी छ । उक्त निर्वाचनमा उम्मेदवारका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन छ । तर उम्मेदवारी मनोनयन दर्ता नहुँदै परिणाम पोल्टामा पार्न दल र उम्मेदवारले अनेक प्रपञ्च र तिकडम रच्न थालेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया