NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल, कांग्रेस एक्लै लड्ने

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि कांग्रेस कार्यकर्ताको विरोधपछि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताए ।

उनले भने, “सत्तारुढ दलबीच गठबन्धनका लागि गएराति सहमति भएको थियो, कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा कांग्रेससँग सहमति भएन हामी दुई समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय ग¥र्यौं ।”

डोटीमा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच सहमति भएपछि आफूले पाएका स्थानीय तहमा आजै उम्मेदवारी दर्ता गर्ने तयारी भएको एकीकृत समाजवादीका डोटी उपाध्यक्ष शिवराज खड्काले जानकारी दिए ।

उता सत्तरुढ दल कांग्रेस भने डोटीमा एक्लै चुनावमा जाने भएको छ । डोटीमा कांग्रेस एकलरुपमा निर्वाचन जाने र नौवटै स्थानीय तहका लागि आजै उम्मेदवारी दिइने कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।

उनले भने, “कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धनका लागि निकै प्रयास गरेका थियौँ, विविध कारणले सहमति हुन सकेन, हामी एक्लै निर्वाचनमा जान्छौँ ।”