NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कहाँ कहाँ भए निर्विरोध निर्वाचित ?

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुन थालेका छन् ।

अहिलेसम्म प्राप्त विवरणअनुसार डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष र तीन गाउँपालिकाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त गाउँपालिकामा नेकपा एस बाहेक अन्य पार्टीले उम्मेदवारी दर्ता नगराएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

काईके गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । ती सबै वडाध्यक्ष र वडा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।
एउटा वडामा एक वडाध्यक्ष, दुई सदस्य, एक महिला सदस्य र एक दलित तथा अल्पसंख्यक गरी ५ जना सदस्यहरु निर्वाचित हुने व्यवस्था छ ।

काइके गाउँपालिकाका ७ वटा वडाबाट ३५ जना जनप्रतिनिधी पनि निर्विरोध निर्वाचित भएका छन् । उनीहरु पनि सबै नेकपा एसका उम्मेदवार भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

यस्तै डोल्पाकै छार्का ताङ्सोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङको मात्र उम्मेदवारी दर्ता भएको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार दावी विरोधको समय सकिएपछि उनीहरु निर्विरोध निर्वाचित हुनेछन् ।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको छ । उपाध्यक्षको उम्मेदवार पेमा पनि एकीकृत समाजवादीका नेतृ हुन् ।

यस्तै ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाको फत्तालुङ गाउँपालिका वडा नम्बर ६ का सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । सो वडामा एक–एक जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडा सदस्य चयन गरी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

उनका अनुसार उक्त वडाको वडाध्यक्षमा छेतेन लामा शेर्पा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाङ्फेले मनोनयन दर्ता गरेका थिए ।

निर्विरोध निर्वाचित हुने सबैजना स्वतन्त्र उम्मेदवार हुन् । २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित हुने फक्ताङलुङ पहिलो स्थानीय तह बनेको छ