NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

अन्तिममा दल बदलेर उम्मेदवार बन्नेहरू

काठमाडौं । अन्तिम समयमा दल बदलेर पनि केही व्यक्ति उम्मेदवार बन्न सफल भएका छन् । आगन्तुकलाई टिकट थमाउनेमा एमाले, कांग्रेस, माओवादीदेखि लोकतान्त्रिक समाजवादी, संघीय समाजवादीलगायत छन् ।

झापाको कन्काई नगरपालिकामा आइतबार एमाले परित्याग गरेका श्यामसुन्दर ओली लगत्तै राप्रपा प्रवेश गरेर मेयरको टिकट लिन सफल भएका छन् । ललितपुर उपमहानगर– १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले मनोनयनकै दिन एमाले परित्याग गरेर सोही वडामा माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट अर्कैले टिकट पाएपछि माओवादी प्रवेश गरेर उनले टिकट लिएका हुन् ।

त्यसैगरी, माओवादीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडियाले पनि एमाले प्रवेश गरेर पुनः मेयरमा उम्मेदवारी दिएका छन् ।

जसपाबाट एमाले प्रवेश गरेका शिवशंकर साह (हीरा) जनकपुरमा मेयरको उम्मेदवार बनेका छन् । जनकपुरमै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।