NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

बाँकेमा सहोदर दाजुभाइ वडाध्यक्षका प्रतिस्पर्धी

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका– १ को वडाध्यक्षमा सहोदर दाजुभाइले एमाले र कांग्रेसबाट उम्मेदवारी दिएका छन् । एमालेबाट भाइ प्रमोद रिजाल र कांग्रेसबाट दाइ विनोद रिजालले उम्मेदवारी दर्ता गराएका छन् । दुई छोराले फरक राजनीतिक दलबाट एउटै पदमा उम्मेदवारी दिएपछि आमा लक्ष्मी दोधारमा परेकी छिन् । सोच–विचार गरेर मतदान गर्ने उनले बताइन् । ‘एउटै पदमा दुईजनालाई मत दिन मिल्दैन । एउटा छोरालाई मत दिने र अर्कोलाई नदिने हुने नै भयो,’ लक्ष्मीले भनिन्, ‘गम्भीर भएर सोच–विचार गरी मुटुमाथि ढुंगा राखेर मतदान गर्छु ।’ वडाध्यक्षमा उम्मेदवार दुवै छोराले आमालाई मतदान गर्ने स्वतन्त्र र नैसर्गिक अधिकार भएको बताए । जसलाई मत दिए पनि आफ्नो गुनासो नहुने उनीहरू बताउँछन् । ‘आफूलाई मन पर्ने उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार सबै नागरिकलाई छ । गोप्य मतदान भएकाले मलाई मत दिनुभएन भनेर गुनासो गर्ने ठाउँ रहँदैन,’ प्रमोदले भने ।

त्यस्तै, कोहलपुर नगरपालिका– ३ मा पनि सहोदर दाजुभाइ वडाध्यक्षको प्रतिस्पर्धा गर्दै छन् । माधव रिजाल एमालेबाट र दाइ ताराकेशव रिजाल माओवादीबाट चुनावी मैदानमा उत्रिएका छन् । यसअघि पनि माधव र ताराकेशवबीच प्रतिस्पर्धा भएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्षका प्रत्याशी माधवले माओवादीका उम्मेदवार ताराकेशवलाई एक सय ८७ मतले पराजित गरेका थिए । ‘फरक राजनीतिक दलमा लागेपछि दाजुभाइ, बाबुछोरा, पतिपत्नीबीच हुने प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्छ,’ माधवले भने, ‘एउटै पदमा दाजुभाइको उम्मेदवारी पर्नु राजनीतिमा कुनै नौलो कुरा होइन ।’ दाजुभाइको प्रतिस्पर्धामा आमा रञ्जता रिजाललाई पनि नौलो लाग्न छाडेको छ । उनले फरक पार्टीमा लागेका दुई छोराबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताइन् । ‘अघिल्लो चुनावमा भोट हाल्ने वेला असजिलो भएको थियो । यसपालिको निर्वाचनमा त मैले पनि पचाइसकेँ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।