NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

रेनुलाई जिताउन गठबन्धनका सबै शीर्ष नेता चितवन जाँदै, को–को जाँदैछन् ?

काठमाडौं । सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार बनेकी रेनु दाहाललाई जिताउन सबै प्रयत्न लगाउने भएको छ । रेनुलाई जिताउने उद्देश्यले सत्ता गठबन्धनका दलका नेताहरू वैशाख २२ मा भरतपुर पुग्ने भएका छन् ।

आमसभामा भाग लिन प्रधानमन्त्री एवं कांग्रेस सभापति, शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइरालासहितका नेता चितवन पुग्ने भएका हुन् ।

पाँच दलीय चुनाव प्रचारप्रसार समिति भतरपुरले शीर्ष नेताको सहभागितामा भरतपुरमा २२ वैशाखमा चुनावी सभा गरिने भन्दै सहभागी हुन सार्वजनिक अपिल गरेको छ ।

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी परेपछि सत्ता गठबन्धनले झन् प्राथमिकता राखेका हुन् । कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिएपछि सत्ता गठबन्धन झन् अप्ठ्यारोमा परेको छ ।

उनको उम्मेदवारी फिर्ता गराएर रेनुको पक्षमा माहोल बनाउन खोजे पनि कांग्रेस उनको उम्मेदवारी फिर्ता गराउन असफल भएको थियो । उम्मेदवारी फिर्ता नलिएपछि पौडेल, उनका प्रस्ताव र समर्थकलाई कांग्रेसले कारवाही गरिसकेको छ ।

भरतपुरमा २० वटा वडामा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार छन् । यसैले यसपटक बागी उठे पनि कांग्रेसको मत पौडेलले धेरै नकाट्ने कांग्रेसको हिसाब छ । तर कांग्रेसकै भोटमा रेनुले जित्नुपर्ने भएपछि ढुक्क हुने स्थिति गठबन्धनको छैन । यसैले शीर्ष नेता नै पुगेर चितवनमा चुनावी सभा गर्ने तयारी गरेका हुन् । रेनु प्रचणडपुत्रीसमेत हुन् ।