NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अब व्यापारिक मल बनाउने काम बन्द : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छिन् ।

काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको बताउँदै उनले आफू मेयरमा निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने दाबी गरिन् ।

विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनको भनाइ छ ।

‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको हो,’ सिंहले भनिन् ।

आफू कांग्रेसको कार्यकर्ता र सिपाही भएको बताउँदै उनले मेयर निर्वाचित भए घोषणापत्र अनुसार नै काम गर्ने बताइन् ।

शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफ्नो राजनीतिको घर शंकरदेव भएकोसमेत बताइन् । शंकरदेवको क्याम्पसको विकासमा समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

‘विरासतबाट होइन, म शंकरदेवबाट राजनीतिमा उठेकी हुँ’ उनले भनिन् ।

२०३३ सालमा गोर्खाबाट कांग्रेसको सदस्यता लिएको बताउँदै उनले जनतालाई रैतीबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको प्रष्ट्याइन् । मंगलादेवी सिंहको परिवारबाट आएको महिला सदस्य भएकोले महिला र उत्पीडितको हितको लागि मेयरको उम्मेदवारमा अघि बढेको उनले स्पष्ट पारिन् ।

भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो भन्दै उनले ‘डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने’ दाबी गरिन् । घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिने, स–साना समस्याले काठमाडौं गिज्याउने क्रमको अन्त्य गर्नेसमेत उनले बताइन् ।

न्यून आय भएका महिला दिदीबहिनीहरूलाई राहतको व्यवस्था गर्दै स्वरोजगारको व्यवस्था गराउने उनको भनाइ छ ।

जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै उनले भनिन्, ‘अब भवन जेष्ठ नागरिकका लागि बन्छ, खाली जग्गामा पार्क बन्छ । अब व्यापारिक मल बनाउने काम बन्द हुनेछ । ३२ वडै स्वास्थ प्रवन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्नेछ ।’

महागनरबासीका सुविधासम्पन्न अस्पताल खोल्ने, अस्पतालमा असहाय, दीन–दुःखी र जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउने उनको दाबी छ ।

पैसा नहुनेलाई काठमाडौंमा निशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्नेसमेत उनले बताइन् ।

काठमाडौंको सस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको संरक्षण गर्नेसमेत उनले स्पष्ट पारिन् ।