NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता

काठमाडौँचन्द्रागिरिमा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्।

चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठजनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताए । चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका सङ्गठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन् ।

निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताए । यस्तै, अब चाँडै नै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताए ।

काठमाडौँ जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

उक्त नगरपालिका काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । स्थानीय तह निर्वाचनका लागि उक्त नगरपालिकामा कूल ४७ हजार २६४ मतदाता रहेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशन दानीले उम्मेदवारी दिएको छ भने नेकपा (एमाले) का तर्फबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।