NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमाले सरकारमा गयो कि नाकाबन्दीको सामना गर्छ, उत्तरतिरबाट बाटो खुल्छ : ओली

भरतपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन् । एमाले चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले( एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताए ।

प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उनले भने, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उनले विकासमा पहुँच पुग्ने बताए ।

भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उनले यो काम सुवेदीबाट सम्भव भएको बताए । गठबन्धन लामो समय नटिक्ने भन्दै उनले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गरे ।

उनले भने, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् । निर्वाचनपछि एमालेको सरकार बन्छ ।”

एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उनले विभिन्न समस्या झेलेर पनि काम गरेको बताए । उनले भने, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उनले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गरे ।

निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उनले भने, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्को झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेको छ ।”