NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

शीर्ष नेता कसले कहाँबाट भोट हाल्दैछन् ?

काठमाडौं । शुक्रबार स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन गराउनका लागि खटिएका निर्वाचन अधिकृतहरू तोकिएको स्थानमा पुगिसकेका छन् । ७५३ स्थानीय तहमा ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधि चुनिंदै छन् । उम्मेदवारलाई जिताउनका लागि राजधानीबाट मतदाताहरू आफ्ना घरगाउँमा पुग्नेक्रम जारी छ ।

निर्वाचन र मतदातालाई सहज गराउनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । मौन अवधिको समयमा आम मतदाता र उम्मेदवारहरू चुन्ने र चुनिने दिनको व्यग्र प्रतिक्षामा छन् । स्थायी सरकार मानिएको स्थानीय तहको निर्वाचनमा योपटक सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ ।
निर्वाचका लागि राजनीतिक दलका शीर्ष नेताहरूसमेत आ–आफ्ना मतदान केन्द्रमा पुग्ने क्रम जारी छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गर्न डडेल्धुरा पुगिसकेका छन् । देउवाले चार दिन डडेल्धुरामै बसेर भोट हालेर फर्किने तयारीमा देउवा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवाले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम उच्चमाविको मतदान केन्द्रबाट भोट हाल्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मत हाल्नेछन् । एमाले विभाजन पश्चात् आक्रामक ढंगले चुनावी प्रचारका लागि देश दौडाहामा निस्किएका ओली योपटक ६० प्रतिशत स्थान जित्ने दाबी गर्दै आएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ को लक्ष्मी माध्यमिक विद्यालयबाट मतदान गर्दैछन् । सबैभन्दा चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरमा प्रचण्डकै छोरी रेनु दाहाल गठबन्धनकोतर्फबाट मेयरमा उठेकी छिन् । भरतपुरमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गर्दैछन् ।

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित रम्फोक आधारभूत आवि मतदान केन्द्रबाट भोट खसाल्दै छन् ।

पूर्वप्रधानमन्त्री तथा जसपाका कार्यकारीणी परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गर्दैछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका–७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट भोट हाल्दैछन् ।
पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङले इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
एमाले उपाध्यक्ष बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका–८ बाट मतदान गर्दैछन् ।

एमाले महासचिव तथा लुम्बिनीका पूर्वमूख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–११ बाट मतदान गर्दैछन् ।
एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गर्दैछन् ।

त्यस्तै पूर्वसभामुख तथा काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्दैछन् ।
काँग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दैछन् । गठबन्धनबाट सिंहकै श्रीमती सिर्जना श्रेष्ठ मेयरमा उठेका छन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस मतदान केन्द्रबाट मत हाल्दैछन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको गलकोट नगरपालिका–९, लक्ष्मी नारायण प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।