NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिंहदरबार सुनसान

काठमाडौं । उम्मेदवार र नेता मात्र होइन, कर्मचारी र मतदातासमेत स्थानीय निर्वाचनमा केन्द्रित भएपछि अहिले सरकारी कार्यालय सुनसानजस्तै भएका छन् । सेवाप्रदायक कर्मचारी र सेवाग्राहीसमेत निर्वाचनमा हेलिएपछि मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार पनि सुनसान छ । राजनीतिक नेतृत्व पनि चुनावी मैदानमै छ ।

दैनिक हजारौँको संख्यामा कर्मचारी, दलका नेता–कार्यकर्ता र सेवाग्राहीको आवतजावत हुने सिंहदरबारको चहलपहल अहिले स्वात्तै घटेको छ । अहिले न मन्त्रालयहरूमा पूरा संख्यामा कर्मचारी छन्, न साबिकझैँ नेता–कार्यकर्ता र सेवाग्राहीको चाप छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार सिंहदरबारमा करिब पाँच हजार कर्मचारी छन् । तर, सिंहदरबारका करिब एकतिहाइ कर्मचारीलाई निर्वाचन आयोगले निर्वाचनजन्य गतिविधिमा परिचालन गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका १० हजार सात सय ५५ मतदानस्थलमा करिब एक लाख नौ हजार ८८ कर्मचारी खटाएको छ । त्यसमा अधिकांश निजामती कर्मचारी छन् । एउटा मतदानस्थलमा सातदेखि आठजना कर्मचारी खटाइएको छ । निर्वाचनमा केन्द्रित हुँदा पनि कार्यालयमा कर्मचारी घटेका छन् । निर्वाचन आयोगले उपसचिव र शाखा अधिकृतलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा देशभर खटाएको छ ।

त्यस्तै, हालै १८ जना सहसचिवलाई संवेदनशील भनेर वर्गीकरण गरिएका जिल्लामा मतदान, आचारसंहिता पालनालगायतका लागि अनुगमनका लागि खटाएको छ । यसमा ठूलो संख्यामा सिंहदरबारका कर्मचारी पनि छन् ।

कर्मचारी मात्र होइन, अहिले सिंहदरबारमा मन्त्रीहरू नै पनि नियमित मन्त्रालय आएका छैनन् । चुनावलक्षित निर्वाचन कार्यक्रममा सहभागी हुन र दलगत गतिविधिमा संलग्न हुँदा मन्त्रीहरू मन्त्रालयमा भेटिन छाडेका छन् । जसले मन्त्रालयको निर्णय र राजनीतिक चहलपहल पनि घटाएको छ । अर्कातिर सिंहदरबारमा दलहरूका संसदीय कार्यालय पनि खुलेका छैनन् । यसले सिंहदरबारमा नेता–कार्यकर्ता आउने र त्यसका कारण हुने चहलपहल घटाएको छ ।

यसका अतिरिक्त ३० वैशाखदेखि २ जेठसम्म चार दिन लगातार सार्वजनिक बिदा छ । लगातारको बिदा र चुनावमा सहभागी हुन कतिपय कर्मचारी आफ्नो अतिरिक्त वार्षिक बिदा व्यवस्थापन गरेर छुट्टीमा गएका छन् । प्रशासनिक र राजनीतिक गतिविधि सुस्त भएपछि सुनसान बनेको सिंहदरबारमा सवारी चाप पनि घटेको छ । सिंहदरबारमा अहिले फाट्टफुट्ट मात्र सवारीसाधन देखिन्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।