NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यी स्थानीय तह जहाँ ३० वैशाखमा निर्वाचन हुनेछैन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको अन्तिम तयरी पुरा गरे पनि केही स्थानमा निर्वाचन नहुने जनाएको छ । आयोगको सूचना अनुसार ९ जिल्लाको विभिन्न स्थानीय तहको निर्वाचन कार्यतालिका संशोधन तथा नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।

विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको मृत्यु भएपछि निर्वाचन कार्यतालिका संशोधन र नयाँ कार्यतालिका लागु गरेको हो ।
स्थगित भएका गाउँपालिका तथा नगरपालिकाहरूमा सुनसरीको हरिपुर गाउँपालिका, रौतहटको वृन्दावन नगरपालिका, मोरङको केराबारी गाउँपालिका, कपिलबस्तुको बुद्धभूमि नगरपालिका रहेका छन् ।

त्यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका र सिरहाको सिरहा नगरपालिका रहेको छ । यसैगरी, कपिलवस्तुकै महाराजगंज नगरपालिका र दाङको तुलसीपुर नगरपालिका रहेको छ ।

कपिलवस्तुको महारागंजमा कांग्रेसका उप्रमुखका उम्मेदवार शुभावती कुर्मीको वैशाख २७ मा मृत्यु भएकाले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । त्यस्तै दाङको तुलसीपुर नगरपालिका वडा नम्बर १७ का एमाले वडाध्यक्षका उम्मेदवार लभरु चौधरीको पनि वैशाख २७ मा मृत्यु भएकाले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यी दुवै स्थानमा जेठ ३ मा निर्वाचन हुने आयोगले जनाएको छ । अन्यमा सामान्य संशोधन गरी भोलि नै निर्वाचन हुनेछ ।

मृत्यु हुने अन्य उम्मेदवारहरूमा सुनसरीको हरिपुर गाउँपालिका ६ नम्बर वडाका कांग्रेसका दलित महिला सदस्य उम्मेदवार मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका ५ का जसपाका महिला सदस्य उम्मेदवार मीना देवी रहेका छन् ।

त्यस्तै मोरङको केराबारी गाउँपालि २ का कांग्रेसका सदस्यका उम्मेदवार नविन लिम्बू, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ८ एमाले वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारी रहेका छन् ।

त्यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका ३ का एमाले दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिन रहेका छन । त्यस्तै, कपिलबस्तुको कपिलवस्तु नगरपालिका १० का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार राजेन्द्र चौधरी थारु र सिरहाको सिरहा नगरपालिका ५ वडाका एमाले वडा सदस्यका उम्मेदवार मुना सेख रहेका छन् ।