दिनभर कहाँ–कहाँ भए हवाई फायर ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानका लागि तोकिएको निर्धारित समय सकिएको छ । निर्वाचन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको छ । तर देशका कतिपय निर्वाचनस्थल तनावग्रस्त रहे । सात प्रदेशमध्ये मधेस प्रदेशमा यस्ता घटना बढी देखिए । अवस्था काबुमा लिन कतिपय स्थानमा सुरक्षाकर्मीले हवाई फायर नै गर्नुपर्यो ।
सुनसरीको भाक्राहा नरसिंह गाउँपालिकामा बिहान ९ बजेट ४८ मिनेटमा हवाई फायर भएको थियो । नेपाली सेनाले दिएको इन्सास राइफलबाट त्यहाँ हवाई फायर भएको हो । घटनामा कुनै मानवीय क्षति भने हुन पाएन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भने झुक्किएर हवाई फायर हुन पुगेको बताउँछन् ।
बाजुराको बुढीगंगा गाउँपालिकाको मतदान केन्द्र पनि दुई पक्षबीचको विवादले अशान्त रह्यो । अवस्था नियन्त्रणमा लिन त्यहाँ प्रहरीले हवाई फायरका साथै हवाई गस्ती नै गर्नुपरेको थियो ।
मतदानका क्रममा बझाङका विभिन्न १६ स्थानमा पनि सामान्य विवाद भएको निर्वाचन आयोगले जनाएको छ । यसक्रममा ४ स्थानमा हवाई फायर गरिएको थियो ।
तनावपछि त्रस्त मतदाता दिउँसो तीन बजेसम्म केन्द्रमा गएका थिएनन् । पछि अवस्था सामान्य भएपछि त्यहाँ मतदान कार्य अघि बढेको बताइएको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको एक मतदान केन्द्रमा पनि विवाद भएको थियो । परिस्थिति नियन्त्रणबाहिर गएपछि त्यहाँ पनि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो ।
रामेछापको मन्थली वडा नं. १२ को मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर भएको छ ।
यस्तै दोलखाको वैतेश्वर गाउँपालिकाको वडा नं १, २ र ३ मा कांग्रेस र माओवादीका कार्यकर्तावीच विवाद भएको थियो । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको दोलखाका प्रमुख जिल्ला अधिकारीले नेपालवाचलाई जानकारी दिए ।
त्यस्तै हुम्लामा पनि गोली चलेको थियो ।
प्रतिक्रिया