१० प्रतिशतमा के रमाइलो मान्नु, ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ : केशव स्थापित [अन्तर्वार्ता]
![१० प्रतिशतमा के रमाइलो मान्नु, ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ : केशव स्थापित [अन्तर्वार्ता]](https://nepalwatch.com/wp-content/uploads/2022/05/Keshav-Sthapit_1200x600px-05-16.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणनामा स्वतन्त्रका बालेन शाह यतिखेर चर्चाको शिखरमा छन् । किनकी घरघरसम्म संगठनको जालो भएका एमाले र कांग्रेसका प्रभावशाली उम्मेदवारलाई निक्कै पछि छोड्दै बालेन निरन्तर अग्रतामा छन् । सुरुवातदेखि तीन हजार अन्तरले अग्रता लिंदासमेत बालेन एकपटक पनि पछि परेका छैनन् । बरु दुई बलिया दलका उम्मेदवार एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पाएको भन्दा बढी मत बालेनले प्राप्त गरिसकेका छन् । तर यो मतलाई प्रतिस्पर्धी एमालेका केशव स्थापित प्रारम्भिक नतिजा पनि मान्न तयार छैनन् । भन्छन्–१० प्रतिशत केही होइन ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ
काठमाडौं महानगरपालिका मतगणना भइरहँदा तपाईं के गर्दै हुनुहुन्छ ?
म घरमै आराम गरेर बसिरहेको छु ।
अहिलेको प्रारम्भिक मतगणनामा तपाईं तीन हजार अन्तरले पछाडि देखिनुभएको छ यसलाईचाँहि कसरी लिनुभएको छ ?
प्रारम्भिक स्रारम्भिक नतिजा भन्ने पनि हुन्छ ? समग्रतामा नतिजा हुन्छ । ७० प्रतिशत मत गन्दा बल्ल कम्पिटिसन (प्रतिस्पर्धा) हुन्छ ।
तर एमालेकै प्रभाव भएको वडामा पनि अन्तर कम भएन नि ?
यस्तो अन्तरलाई अहिले केही हेर्नु पर्दैन । अहिलेलाई प्रतिस्पर्धा भनेर किन हेर्ने ?
भनेपछि तपाईंलाई अझै जित्ने कफिडेन्छ छ ?
जनताले भोट हालिसक्या छन् । मेरो आकलन मलाई थाहा छ ।
रिङमा ममात्रै छु भन्नुभएको थियो तर प्रारम्भिक परिणामले यस्तो देखाइरहेको त छैन नि ?
यो अहिलेको प्रश्नै भएन । के हुन्छ मलाई नै थाहा छ । के बुझ्नुपर्यो भने मतगणना नभई अहिले भन्ने कुरा हुँदैन ।
भनेपछि आफ्नो पकड भएको ठाउँबाट जित्छु भन्ने तपाईंको दाबी हो ?
अहिलेको मतगणनामा मलाई ‘इन्ट्रेस्ट’ नै छैन । ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ । रमाइलो हुन्छ । १० प्रतिशतमा के रमाइलो मान्नु । जरा भर्खर हालेको छ । यो फैलन पाएन भने मर्छ । जरालाई बढ्न दिनुपर्यो नि ।
प्रतिक्रिया