NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमालेको गढ पनौतीको मेयरमा रोचक प्रतिस्पर्धा

काठमाडौं । एमालेको गढ मानिएको पनौती नगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । १ देखि ५ सम्मका वडाको मतगणना सकिंदा प्रतिस्पर्धा थप रोमाञ्चक हुने देखिएको हो ।

गणना भएका ५ वडामध्ये १ र ५ कांग्रेसले जितेको छ । अघिल्लोपटक एमालेले जितेको ५ यसपटक कांग्रेसले उल्ट्याएको हो । २, ३ र ४ मा एमालेले जितेको छ । तर मतान्तर पहिलेकाे जस्ताे बनाउन सकेन ।

वडातर्फमा १, २ र ३ मा गणना हुँदा मेयरमा भीम न्यौपानेले ५ सय मत बढीको अग्रता लिएका थिए । तर ४ र ५ को मतगणना हुँदा कांग्रेसका रामशरण भण्डारीले मतान्तरलाई घटाएका छन् ।

तीनवटा वडाबाट एमाले उम्मेदवारले बढाएको अग्रता २ वटा वडाबाट घटाउन कांग्रेस मेयरका उम्मेदवार सफल भएका छन् ।

पाँच वडाबाट प्रमुखमा एमालेका न्यौपानेले ५९७७ र कांग्रेसका भण्डारीले ५७८५ मत प्राप्त गरेका छन् । यसमा १९२ मतले अझै न्यौपानेले अग्रता लिएका छन् ।

अब गन्न बाँकी वडामध्ये ६, ७, ८, ९, १० र ११ कांग्रेसले अघिल्लोपटक जितेका वडा हुन् । १२ एमालेले जितेको वडा हो । यसैले कांग्रेसलाई भन्दा एमालेलाई दबाब देखिएको हो ।

न्यौपानेले आफ्नै वडाबाट भारी मतले अग्रता लिन नसकेपछि अब बाँकी ७ वटा वडाबाट सहजै जित्ने हिसाब कांग्रेसको छ । किनकी कांग्रेस मेयरका उम्मेदवारको वडाबाट उनले राम्रो मत ल्याउने आकलन छ ।

एमालेले १२ वडाबाट धेरै मत झार्नेछ । अघिल्लोपटक एमालेले यो वडाबाट ६ सय अन्तरले जितेको थियो । तर वडा १ अर्थात् रयालेमा एमालेले झट्का बेहोर्यो ।

अघिल्लोपटक चार सय अन्तरले जितेको १ मा एमालेले यसपटक कांग्रेससँग २२५ मतको हार बेहोर्यो । २ मा पनि गठबन्धनकाे भाेट बदर हुँदा प्राविधिक हिसाबले मात्रै एमालेले साँघुराे मतले वडाध्यक्ष जित्याे ।

कांग्रेसका जय जसले एमालेको लालकिल्ला तोडेर विजय प्राप्त गरे

यसले परम्परागत गढमा एमालेलाई धक्का लाग्न सक्ने देखिएको छ । १, २, र ३ बाट कम्तिमा १५ सय मतकाे अग्रता बनाउन नसके मेयरमा हारिने हिसाब एमालेकाे छ । यसैले १९२ मतले पछि परे पनि कांग्रेसले एमालेलाई परास्त गर्ने हिसाब निकालेको छ ।

उपप्रमुखमा भने एमालेकै उम्मेदवारले निरन्तर अग्रता लिएकी छिन् । एमाले उम्मेदवारले ५९७७ र नेकपा एकीकृत समाजवादीले ४४९३ मत ल्याएको छ ।

तीन हजार अन्तरले एमालेले जितेको पनौतीमा कांग्रेसले यसपटक बदला लेला ?