आफैंलाई हराउने एमाले उम्मेदवारप्रति कांग्रेसकी रजनीको सम्मान

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसकी रजनी थापा जितनजिक पुगेर पराजित भएकी छिन् ।
एमालेका प्रकाश अधिकारीसँग १७४ मतको साँघुरो अन्तरले पराजित भए पनि उनले हार्दिकतपूर्ण सद्भाव देखाएकी छिन् । पराजित भएलगत्तै रजनीले खादा लगाएर अधिकारीलाई बधाई दिएकी हुन् ।
‘टोखा नगरपालिका नगरप्रमुखमा निर्वाचित हुनु भएकोमा आदरणीय दाइ प्रकाश अधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।जनमत पाएर दोश्रो कार्यकालमा जाँदै गर्दा हजुरले गर्नु पर्ने काम कर्मलाई पुर्ण निष्ठाका साथ गरि टोखा नगरपालिकालाई अबका दिनमा विकसित बनाउदै नेपालमै सम्मुनत नगर बनाउनुहुनेछ भन्ने आश गर्दछु ’ अधिकारीलाई बधाई दिंदै रजनीले भनेकी छिन्, ‘यसपाली पनि केही मन जित्न बाकी रहेको अनुभव प्राप्त भयो । यस चुनावी माहोल र चुनावपूर्व मलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण टोखा नगरवासी, मेरो परिवार इस्टमित्र लगायत सम्पूर्ण नेपाली काङ्ग्रेस परिवारलाई पनि हार्दिक आभार प्रकट गर्दछु ।’
उपमेयरमा जित्ने कांग्रेसका मुरारी तामाङको सफल कार्यकालको कामना पनि गरेकी छिन् ।
‘आदरणीय मुरारी तामाङ दाइलाई उपमेयरको विजेता हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ उनले भनेकी छिन्, ‘अन्तिममा, सम्पूर्ण मतको कदर गर्दै म आगामी दिनहरुमा टोखा नगरपालिकामा अझै सकृयता देखाउदै टोखा नगरको समग्र विकासमा सदा रहने प्रतिबद्धता पनि सबै माझ व्यक्त गर्दछु ।’
टोखामा १०३४० मत ल्याएर अधिकारी पुनः मेयरमा निर्वाचित भएका हुन् ।
१७४ मतले पछि परेकी कांग्रेसकी रजनी थापाले १०१६६ मत ल्याइन् ।
उपमेयर भने कांग्रेसले जितेको छ । कांग्रेसका मुरारी तामाङ १०१३२ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी ज्ञानमाया डंगोलले ९५१८ मत ल्याइन् ।
टोखामा पुनः अधिकारी विजयी, थोरै मतले पछि परिन् कांग्रेसकी रजनी
प्रतिक्रिया