NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निर्वाचन स्थलमा भएका फोहर सफा गर्दै ढुङ्गाना

झापा । स्थानीय तहको चुनाव मतगणनाको चरणमा छ । सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ ।

परिणाम कुरिरहेका सर्वसाधारणले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन् । आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन ।

तर, अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय गणेश ढुङ्गाना निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिएका छन् । उनी एउटा सिटी सफारी हाकेर झापाका विभिन्न मतगणनास्थल पुग्छन् र परिसरमा छरपस्ट प्लास्टिकका बोतल संकलन गर्छन् ।

मङ्गलबार बिहानै सिटी सफारी लिएर उनी कनकाई नगरपालिका भवन पुगे । गाडी लिएर मतगणनास्थल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीेले उनलाई रोके । उनले भित्र रहेको प्यास्टिकजन्य फोहर सफा गर्ने आफ्नो उद्देश्य रहेको बताए । त्यसपछि उनलाई प्रवेश अनुमति दिइयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनले मतगणनास्थल रहेको नगरपालिका परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र फुटेका सिसा बटुले ।

उनले कनकाईमा सङ्कलन गरेको प्लास्टिक र सिसाका बोतल १४ किलोमिटर पूर्व आफ्नो घरनजिक चौरमा थुपारेका छन् । सबैतिर सङ्कलन गरेको सामान त्यहाँ जम्मा गरेर बिक्री गर्ने र बेचेर आउने नगदले असहाय तथा दृष्टिविहीनका लागि आवास भवन बनाउन सहयोग गर्ने सोच रहेको उनले सुनाए ।

वैशाख ३० गते चुनावका दिन पनि सिटी सफारी लिएर मतदान केन्द्रमा फोहोर उठाउन पुगेका उनले महारानीगञ्ज मावि र वडा नं ६ को लक्ष्मी मावि मतदान केन्द्रबाट चार गाडी पानीका खाली बोतल सङ्कलन गरेको बताए ।

ढुङ्गनाको फोहर सङ्कलन कार्यमा सुरक्षामा खटिएका प्रहरी र म्यादी प्रहरीले पनि प्रोत्साहित गर्दै आएका छन् ।

सामाजिक अभियन्ता ढुङ्गानाले कोभिड-१९ को महामारीका बेला विपन्न र असहायका लागि उपचार र खाद्यान्नको जोहो गरिदिएका थिए । दृष्टिविहीन र शारीरिक अशक्तहरुका लागि त्यसबेला उनले अभियान नै सञ्चालन गरेर एक सय बोरा चामल, एक सय पोका दाल, एक सय लिटर खानेतेल सहयोग जुटाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष